मिस नेपालको धरान अडिसनमा चार सुन्दरी

काठमाडौं । नेपालकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल’को २३ औं संस्करणको लागि शुक्रबार धरानको नवयुग होटलमा अडिसन गरिएको छ । १९ देखि २५ वर्ष उमेर पुगेका युवतीहरुले भाग लिन पाउने ‘मिस नेपाल’को धरान अडिसनका लागि ४ जना अडिसनमा सहभागी थिए ।  नेपालगञ्ज, वीरगञ्ज, पोखरा, बुटवल, धनगढीमा समेत अडिसन सकिसकेको ‘मिस नेपाल’को बिर्तामोड अडिसन आगामी फाल्गुन १ गते हुनेछ । झापाको बिर्तामोडपछि फाल्गुन ५ गते काठमाडौमा अन्तिम अडिसन हुनेछ ।

धरान अडिसनमा अनुपमा बास्तोला, सन्ध्या भेटवाल, सुम्निमा खापुङ र अनु ढुंगाना सहभागी भएकोमा अनु ‘मिस पुर्वाञ्चल २०१७’ की ‘सेकेन्ड रनरअप’ भएकोले सिधैं ‘मिस नेपाल’मा सहभागिताको अवसर पाएकी छन् । अन्यलाई भने काठमाडौ अडिसनपछि प्रस्तुति तथा प्रतिभाको आधारमा अन्तिम २५ जनाको लागि सहभागी गराईने आयोजक हिड्न ट्रेजरका निर्देशक अजय स्थापितले बताए ।

आगामी चैत्र २८ गते काठमाडौमा हुने फिनालेको धरान अडिसनमा निर्देशक अजय स्थापित, ‘मिस नेपाल’ अर्थ २०१७ रोजिना श्रेष्ठ र सिल्भर इन्टरटेनमेन्टका निर्देशक सौरभ श्रेष्ठ निर्णायक थिए । अडिसन अघि ‘मिस नेपाल’ अर्थ २०१७ रोजिना श्रेष्ठ, ‘मिस पुर्वाञ्चल २०१६’ फस्र्ट रनरअप इक्सा मादेनले धरानको युएन कलेज र केन्द्रीय प्रविधि क्याम्पसमा कलेज क्याम्पिनमा सहभागी भएका थिए ।