कान्छी प्रचारमा माइती गाउँमा स्वेता

काठमाडौं । अभिनेत्री तथा निर्मात्री स्वेता खड्का चितवनलाई आप्mनो माइती गाउँ मान्छिन् । उनको डेब्यु अभिनय रहेको फिल्म ‘कहाँ भेटिएला’को सुटिङका क्रममा चितवन बसेकी उनले त्यही कारण चितवनलाई माइती गाउँ मानेकी हुन् । यिनै स्वेता आफ्नो निर्माण रहेको फिल्म ‘कान्छी’को प्रचारका लागि आइतबार चितवनमा थिइन् ।

‘मेरो फिल्मको यात्रा नै चितवनबाट सुरु भएको थियो । त्यसैले म यो ठाउँलाई माईती घर भन्न रुचाउँछु,’आइतबार पत्रकारमाझ चितवनमा स्वेताले भनिन्,‘त्यसकारण पनि मोफसल प्रचारको पहिलो थलोका रुपमा चितवनलाई लिएकी हुँ । यहाँको दर्शकले कान्छीलाई माया गर्नुहुनेछ भन्नेमा म विश्वस्त छु ।’ स्व.शिव रेग्मी निर्देशित ‘कहाँ भेटिएला’मा  स्वेताको अपोजिटमा अभिनेता श्रीकृष्ण श्रेष्ठ थिए । निर्देशक रेग्मी पत्नी ज्ञानुले स्वेतालाई हिम्मत नहारीकन फिल्म क्षेत्रमा अघि बढ्न हौसला दिइन् ।

फागुन ४ गतेदेखि प्रदर्शनमा आउने फिल्म प्रचारको लागि स्वेतासँगै अभिनेता दयाहाङ राई पनि चितवन पुगेका थिए । चितवनस्थित भरतपुरमा गरिएको प्रेसमिटमा अभिनेता दयाले फिल्म समसामयिक कथावस्तुमा रहेकाले दर्शकका लागि रुचीकर हुने बताए । ‘सानो सपना र ठुलो दुःख भोगाइको कथा नै कान्छी हो । तर यही पुरुषवादी सोचको कान्छी होइन, ममतामयी कान्छी हो,’ उनले भने ।

आकाश अधिकारी निर्देशित फिल्म युनिटसँग काम गर्दा रमाईलो र सजिलो रहेको अनुभव पनि दयाले सुनाए । याम थापाको कथा रहेको फिल्ममा श्वेता र दयासँगै नीर शाह, अनु शाह, कामेश्वर चौरसिया, आशान्त शर्मा, प्रज्वल सुजल गिरी, भूमिका श्रेष्ठलगायतको अभिनय रहेको छ । फिल्ममा राजनराज सिवाकोटी र अर्जुन पोखरेलको संगीत र पुरुषोत्तम प्रधानको छायांकन छ ।