रश्मिको मुक्तकलाई पोखरामा वान्समोर

काठमाडौं । आफूलाई साहित्यका विविध आयाममा सक्रिय बनाउदै आएकी साहित्यकार, गजलकार एवं मुक्तककार रश्मि रोदनले पोखरामा आफ्ना मुक्तक सुनाएकी छन् । मुक्तक मञ्च पोखराको आयोजनामा पोखराको न्यूरोडमा भएको कार्यक्रममा करिब दुई दर्जन मुक्तक सुनाउँदा पोखरेली साहित्यप्रेमीहरु मुक्तकमा रमाएका थिए ।

रश्मिले प्रेम सप्ताहको सन्दर्भमा अधिकांश मुक्तक प्रेमभावकै सुनाएकी थिइन् । रिडर्स क्लबको भरिभराउन हलमा खचाखच दर्शकले ‘वान्समोर !’ र ताली बजाएर मुक्तक श्रवणमा दर्शकले साथ दिएका थिए । रश्मिले आफ्नै परिचयसमेत मुक्तकबाट दिएकी थिइन् ।

पोखराको सौन्दर्यलाई समेत मुक्तकमा उतारेकी रश्मिसँगै स्याङ्जाका एसपी असफलले पनि मुक्तक विशेष रुपमा सुनाएका थिए । साथै फुटकर रुपमा पोखराका विभिन्न मुक्तककारहरुले मुक्तकहरु सुनाएका थिए । मुक्तक मञ्च पोखराको ११७ औं श्रृंखलामा प्रान्जलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।