कहिले बन्लान् यी फिल्मको सिक्वेल ?

मुम्बई(एजेन्सी) । बलिउड अहिले सिक्वेलको दौडमा लामो समयदेखि लागिरहेको छ । कैयौं फिल्मको सिक्वेल २०१८ मा पनि रिलिजका लागि तयार छन् । बलिउडमा यस्ता केही सिक्वेल छन्, जो जहिल्यै पनि चर्चामा नै हुन्छन् । तर कहिल्यै पनि घोषणा पछि अघि बढेनन् । घोषणा भएर पनि निर्माण नगरिएका केही सिक्वेल फिल्मको चर्चा गरौंः–

मुन्नाभाई चले अमेरिका

मुन्नाभाईको जादुको झप्पी र सर्किटको कमेडी कनेक्सन १४ वर्ष पछि पनि आज हेर्दा उत्तिकै ताजा लाग्छ । यो फिल्म अहिले हेर्दा पनि हिजै भएको हो कि जस्तो लाग्छ । फिल्म ‘मुन्नाभाई एमबीबीएस’ले सञ्जय दत्तको करियरलाई मात्र माथि पु¥याएन, यो फिल्म जति नै पटक हेर्दा पनि नथाकिने फिल्मको सूचीमा स्थापित भयो । गत १९ डिसेम्बरमा फिल्मले १४ वर्ष पुरा गरेको छ ।

२००३ मा रिलिज भएको ‘मुन्नाभाई एमबीबीएस’ पछि २००६ मा यसको फ्रेञ्चाइजीका रुपमा ‘लगे रहो मुन्नाभाई’ रिलिज भयो । तर दर्शकले यसको तेस्रो सिक्वेल पर्खिएको एक दशक बढी भइसकेको छ । यो फिल्म तेस्रो सिक्वेलको पाइपलाइनमा रहेको बताइए पनि त्यो पाइपलाइन कहिले बन्ने हो अझै टुंगो छैन ।

सञ्जय दत्त र राजकुमार हिरानी दुवैजनाले धेरै पटक फिल्मको तेस्रो संस्करण जसरी भए पनि आउने बताइरहे पनि कहिले आउने भन्ने उनीहरु नै अन्यौलमा छन् । फिल्मको तेस्रो सिक्वेलको नाम ‘मुन्नाभाइ चले अमेरिका’ हुने चर्चा चलिरहे पनि यो फिल्मको सुटिङ आगामी वर्षबाट शुरु हुने अनुमान गरिएको छ ।

हेराफेरी ३

सन् ९० को दशकमा गोविन्दा र डेभिड धवनको जर्बजस्त मार्का स्लैपस्टिक कमेडीको कुवाबाट दर्शकलाई फिल्म ‘हेराफेरी’ले बाहिर निकाल्यो । जुन फिल्म सन् २००० मा रिलिज भएको थियो । गलत पहिचानबाट उत्पन्न भएको असमझदारीलाई निर्देशक प्रियदर्शनले कथाको रुपमा फिल्ममा प्रयोग गरे । फिल्मको सबैभन्दा ठूलो खुबी फिल्मका प्रमुख तीन पात्र अक्षय कुमार, सुनील शेट्टी र परेश रावल थिए, जो शीर्ष भूमिकामा थिए । कमेडी फिल्मका लागि यी तीन कलाकारको रुप नयाँ थियो । खास गरी अक्षयलाई यो फिल्मले ठूलो फाइदा नै पु¥यायो । एक्सन र खिलाडीको रुपमा चिनिएका अक्षयलाई हेराफेरीले बहुआयामी कलाकारका रुपमा स्थापित गरायो ।

यसको दोस्रो भाग ‘फिर हेराफेरी’ सन् २००६ मा आयो । सन् २०१३ मा यसको तेस्रो सिक्वेल अभिषेक बच्चन, जोन अब्राहम, सुनील शेट्टी र परेश रावल कलाकार लिएर बनाउने घोषणा गरियो । ‘हेराफेरी’को पटकथा लेख्ने नीरज वोराले यो फिल्मको निर्देशन गर्ने तयारी भइरहेको थियो । २०१६ मा अभिषेक र जोनले फिल्मबाट हात झिके र उनको ठाउँमा अक्षयको आगमन भयो । निरजलाई हटाएर अहमद खÞानलाई निर्देशकका रुपमा लिइयो । तर अझै पनि फिल्म बनिसकेको छैन ।

आंखें २

सन् २००२ मा रिलिज फिल्म ‘आँखे’ विपुल शाह निर्देशित क्राइम थ्रिलर फिल्म हो । जुन फिल्मको सिक्वेलको घोषणा गत वर्ष गरिएको थियो । अनीस बज्मी सिक्वेलको निर्देशन गर्ने तयारीमा थिए । फिल्मको मुख्य भूमिकामा अमिताभ बच्चन, अर्जुन रामापल, अरशद वारसी र अनिल कपूर फाइनल भइसकेका थिए । तर केही आन्तरिक विवादका कारण फिल्म निर्माणको काम अघि बढ्न सकेन ।

डन ३

अमिताभ बच्चनको फिल्म ‘डन’लाई फरहान अख्तरले शाहरुख खानलाई मुख्य भूमिकामा लिएर ‘डन–द चेञ्च बिगिन्स’को नामबाट रिमेक गरेका थिए । यसको सिक्वेल ‘डन–द किङ इजÞ बैक’ २०११ मा आएका थियो । निकै लामो समयदेखि यो फिल्मको तेस्रो सिक्वेलको चर्चा चलिरहेको छ । फरहान र शाहरुखले जहिले पनि फिल्मको सिक्वेल अवश्य आउने भनिरहेका छन् । फिल्मका लागि दीपिका पादुकोण तेस्रो संस्करणको नायिका हुनसक्ने चर्चा चले पनि त्यसको निश्चितता भइसकेको छैन ।

नो एन्ट्री २

फिल्म ‘नो एन्ट्री’को सिक्वेलको समाचार पनि लामो समयदेखि आइरहेको छ । तर यसको पनि कुनै अत्तोपत्तो छैन । फिल्मका निर्माता बोनी कपुर सलमान खानलाई लिएर सिक्वेल बनाउने कुरा गरिरहे पनि सलमानले समय नदिँदा उनको सिक्वेल सपना पनि पुरा हुन सकेको छैन ।