गायक पोस्टको दाँतमा १२ क्यारेट हीरा

लसएञ्जल्स(एजेन्सी)– हलिउडका प्रख्यात गायक पोस्ट मलोन विश्वभर लोकप्रिय छन् । सामाजिक सञ्जालमा उनको करोडौं फ्यान छन् । तर हालका दिनमा उनी आफूलाई रकस्टार महशुस गरिरहेका छन् । आफूलाई रकस्टार महशुस गर्ने कारण उनको स्टारडम नभई उनको दाँत हो ।

समाचारअनुसार पोस्टले आफ्नो दाँतमा हीरा लगाएका छन् । उनको हाँसोको मूल्य नै करोडौं रुपैंयाँ छ । सोमबारमात्र पोस्टको बारेमा अमेरिकाका दन्त चिकित्सक थोमस कोनेलीले यो कुराको खुलासा गरेका हुन् ।

आफूलाई ‘द फादर अफ डायमण्ड डेन्टिस्ट्री’ बताउने थोमसले पोस्टको तस्वीर शेयर गरेका छन् । तस्वीरमा पोस्टको दाँत देख्न सकिन्छ । जहाँ हीरा लगाइएको छ । ‘मैले यती ठूलो काम पहिलोपटक गरेको हुँ । मैले पहिला विनियरमा सानो हीरा लगाएको थिएँ । तर यो पूरा दाँतमा हो’, उनले भनेका छन् ।

थोमसका अनुसार पोस्टको दाँतमा १ दशमलब ६ मिलियन डलरको हीरा लगाइएको छ । हीरा १२ क्यारेटको छ । यो हीरा निकै महंगो भएको र कोठाको जुनसुकै ठाउँमा पनि देख्न सकिनेछ । यसको चम्काई अलग किसिमको हुने थोमसले जनाएका छन् ।

२५ वर्षका गायक पोस्टले आफ्नो हीराको इम्प्लाइन्टले नयाँ शैलीको सुरुवात गरेका छन् । पोस्टको ‘केडी पेन्ट’, ‘गुड ब्वाइ’, ‘साइको’, ‘आइ फल अपार्ट’, ‘रकस्टार’ र ‘सनफ्लावर सङ’लगायतका गीत हिट छन् ।