एलियन्सको प्रेममा अभिनेत्री अब्बी

लण्डन(एजेन्सी) । विश्व अहिले पनि एलियन्सको अस्तित्वको बारेमा बहस गरिरहेको छ । तर एक ब्रिटिश महिलाले भने आफू एक एलियनको प्रेममा रहेको दाबी गरेकी छन् । अब्बी बेला नामकी ती महिलाले एलियन्सले उनलाई यूएफओको माध्यमबाट बेडरुमबाट अपहरण गरेको दाबी गरेकी छन् ।

अभिनेत्री रहेकी अब्बीले अपहरणपछि एलियन्ससँग भेट गरेको उनले बताएकी छन् । उनका अनुसार एलियन्स पृथ्वीका पुरुषभन्दा सुन्दर देखिन्छन् । अब्बीले आफूले मनपराएको एलियन्स एण्ड्रोमेडा ग्यालेक्सीबाट आएको र आफू एलियन्ससँग पुनः भेटको प्रतीक्षामा रहेको जनाएकी छन् । ‘मलाई पृथ्वीका मानिसप्रति घृणा जागेको छ । मैले अनलाइनमा एलियन्सले मेरो अपहरण गरोस् भन्ने इच्छा व्यक्त गरेको थिएँ । वास्तविकतामा त्यही भयो’, उनले भनेकी छन् ।

उनले आफ्नो अपहरण कसरी भयो भन्ने कुरा पनि उल्लेख गरेकी छन् । ‘मैले प्रत्येक रात एक सेतो प्रकाशको बारेमा सपना देख्न थालें । एक रात मेरो सपनामा मेरो आवाजले एक सामान्य स्थानमा पर्खन भन्यो । अघिल्लो दिन साँझमा मैले बेडरुमको झ्याल खोलेर बसेको थिएँ । म सुत्ने तयारीमा थिएँ । त्यही बेला एक उडान बाहिर देखियो । त्यसपछि एक हरियो चमकदार प्रकाशले मलाई यूएफओभित्र उठाएर लग्यो’, उनले भनेकी छन् ।

उनको दाबी अनुसार यूएफओभित्र ५ एलियान थिए र जसमा एक मान्छे जस्ता थिए । यद्यपि धेरै अग्लो र दुब्लो थियो । उनले आफू २० मिनेटपछि पूर्वी लण्डनस्थित घरमा फर्किएको दाबी गरेकी छन् । अहिले उनी एलियन्स लिन आउने आशमा हरेक रात आफ्नो झोला तयार अवस्थामा राख्छिन् ।