न्यूजिल्याण्डमा गुञ्जिँदै राई इज किङ

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा भर्सटायल गायकको रुपमा चर्चित गायक राजेशपायल राई विश्वको दक्षिणपूर्वी पेसिफिक ओसियनमा रहेको मुलुक न्यूजिल्याण्डमा गुञ्जिने भएका छन् । सांगीतिक कार्यक्रमका लागि ‘वल्र्ड टुर २०१८’मा व्यस्त यी गायकले न्यूजिल्याण्डमा पहिलोपटक आफ्ना सदाबहार गीतहरु सुनाउन लागेका हुन् । राजेशपायल नेपाली सांगीतिक क्षेत्रमा राई इज किङका रुपमा समेत चिनिन्छन् ।

गायक राजेशपायल बिहीबार न्यूजिल्याण्ड पुगिसकेका छन् । उनलाई न्यूजिल्याण्डको क्रिष्टचर्च सिटीमा कार्यक्रम आयोजकले भव्य स्वागत गरेका छन् । राजेशपायलका अनुसार क्रिष्टचर्चा सिटीमा नेपाली सांगीतिक इतिहासमा नै पहिलोपटक सांगीतिक कार्यक्रम हुन लागेको हो । यो कार्यक्रम आगामी शनिवार स्थानीय चाल्र्स लुने हलमा हुँदैछ । कार्यक्रमको आयोजना भुटिनीज समाज क्रिष्टचर्चले गर्न लागेको हो । संस्थाका अध्यक्ष आकाश ड्रुग्बा र संयोजक न्यूजिल्याण्ड निवासी सत्य लिलाले कार्यक्रममा कुनै पनि कमी कमजोरी हुन नदिन हरेक प्रकारको सुविधामा सम्झौता नगर्ने बताए ।

गायक राजेशपायलले न्यूजिल्याण्डमा बस्ने नेपाली समुदायको बारेमा सुनेको र यहाँ कार्यक्रम गर्न आउँदा खुशी लागेको बताए । राजेशपायलले यहाँ ‘दर्शन नमस्ते’, ‘मोहनी लाग्ला है’, ‘म त मर्छुकी क्या हो ठूली’लगायतका सदाबहार गीत सुनाउनेछन् । यहाँको कार्यक्रम पछि उनी अष्ट्रेलिया, दुबई, साइप्रस र कतारका लागि उड्नेछन् ।