पोखरामा गुलाबी मुडमा स्वेता–दया

काठमाडौं । आगामी शुक्रबारबाट रिलिज हुन लागेको फिल्म ‘कान्छी’को बजारमा निकै चर्चा छ । पछिल्लो पटक फिल्म ‘कोहिनूर’पछि फिल्म ‘कान्छी’मार्फत दर्शकमाझ पुनरागमन गर्न लागेकी अभिनेत्री तथा निर्मात्री स्वेता खड्काका कारण पनि फिल्मको चर्चा चुलिएको छ । यसबाहेक फिल्मको गीत ‘चरी चट्ट परी’ले पनि दर्शकको ध्यान उत्तिकै तानेको छ ।

फिल्मले रिलिज अघि नै चर्चा पाइरहँदा फिल्मका प्रमुख जोडी स्वेता खड्का र दयाहाङ राई हालै पोखरामा भेटिए । भ्यालेन्टाइनको माहौल बनिरहँदा यो जोडी फेवातालमा डुंगामा गुलाब साटासाटमा व्यस्त थिए । कालो पहिरनमा झुल्किएका उनीहरुको गुलाबी साटासाट माहौल कम रमाइलो थिएन ।

फिल्मको प्रमोसनका लागि पोखरा पुगेका उनीहरुले प्रमोसनकै माहौलमा गुलाब हातमा लिएर तस्वीर खिच्दा प्रमोसनमा थप बल पुग्यो । आकाश अधिकारी निर्देशित फिल्म ‘कान्छी’मा स्वेता र दयासँगै विनोद न्यौपाने, आशान्त शर्मा, नीर शाह, कामेश्वर चौरासिया, भूमिका श्रेष्ठ, प्रज्जवल सुजल गिरीलगायतको अभिनय छ । फिल्म मुस्ताङको भर्जिन लोकेशनमा खिचिएको छ ।