हङकङमा आइतबार ब्लाइण्ड रक्स प्रिमियर

काठमाडौं । सानै उमेरमा दृष्टि गुमाएकी सृष्टि केसीको जीवनीमा आधारित रहेर निर्माण गरिएको बायोपिक फिल्म ‘ब्लाइन्ड रक्स’ हङकङमा प्रिमियर हुने भएको छ । फिल्मलाई हङकङस्थित नेपाल फिल्म एसोसिएसनले आगामी फागुन ६ गते आइतबारका दिन प्रदर्शन गर्न लागेको हो ।

एसोसिएनका अध्यक्ष राजु राईका अनुसार हङकङमा प्रदर्शनका लागि हङकङले युनिभर्सल प्रमाणपत्रसमेत फिल्मलाई दिएको छ । फिल्म स्थानिय युनलङ हलमा देखाइँदैछ । फिल्मको प्रिमियरमा सहभागिता जनाउन निर्माता निकेश लिम्बु लण्डनबाट हङकङ आउँदैछ । हङकङपछि उनी नेपालमा प्रिमियरका लागि आउनेछन् । निर्माता लिम्बुले फिल्ममार्फत दृष्टिविहिनलाई समाजले हेर्ने दृष्टिकोणलाई बदल्न चाहेको बताए । निर्देशक मिलन चाम्सले फिल्म बनाउन डेढ वर्ष लागेकाले पनि फिल्म निकै मेहनतपूर्वक बनाएको बताए ।

चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण गरिएको फिल्ममा नायिका वेनिशा हमाल शीर्ष भूमिकामा छिन् । उनले फिल्ममा अभिनयकै लागि सृष्टिसँग लामो समयसम्म घुलमिल गरेकी थिइन् । फिल्ममा वेनिशासँगै अनिल केशरी साह, अर्पण थापा, गौरी मल्ल र बसन्त भट्टलगायतका कलाकारको अभिनय छ । यो फिल्म नेपालमा आगामी फागुन १८ मा रिलिज हुँदैछ ।