दोलखामा फिल्म सिटीको शिलान्यास

पूर्णप्रसाद मिश्र, दोलखा । समुद्री सतहबाट तीन हजार ३०० मिटरको उचाइमा उत्तर पूर्वी भेगतिर गणेश, जुगल र गौरीशंकर हिमालको काखमा रहेको डाङ्डुङे डाँडामा अन्तर्राष्ट्रिय चलचित्र नगरी निर्माण हुने भएको छ । चलचित्र विकास बोर्डले प्राकृतिक सौन्दर्यताले भरिपूर्ण सेतीदेवी सामुदायिक वनको एक हजार ५०० रोपनी क्षेत्रफलमा अतिथिगृह र छायांकनस्थल लगायत संरचनाको निर्माण गर्न लागेको हो । यो ठाउँमा अन्तर्राष्ट्रिय चलचित्र नगरी आयोजना निर्माणका लागि मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी सरकारका सूचना तथा सञ्चारमन्त्री माधव पौडेलको पालादेखि पहल शुरु भएको थियो ।

कलाकार मदनदास श्रेष्ठले हिउँदमा प्रायः हिउँ पर्ने यो ठाउँमा चलचित्र नगरी निर्माणका लागि निरन्तर प्रयास जारी राखेपछि सबै प्रक्रिया पूरा गरेर बिहीबार अन्तर्राष्ट्रिय चलचित्र नगरीको शिलान्यास भयो । शिलान्यास गर्दै पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मृग, घोरल, कस्तुरीलगायतका जंगली जनावर दौडने यो वनमा बन्ने चलचित्र नगरी अन्तर्राष्ट्रिय जगतमै आकर्षक थलो बन्ने विश्वास व्यक्त गरे । ‘चलचित्र नगरी निर्माणका लागि पोखरा, बारालगायत स्थानबाट पनि प्रस्ताव आएको थियो, योभन्दा उपयुक्त स्थान अन्यत्र देखिएन, वरपर प्राकृतिक, धार्मिक एवं पर्यटकीयस्थल रहेकाले यो स्थल उपयुक्त छ, चलचित्र क्षेत्रलाई उद्योगका रुपमा व्यवस्थित गर्न पनि यो नगरीले महत्वपूर्ण योगदान गर्नेछ, म पदमा रहे पनि नरहे पनि नगरी निर्माणका लागि सधैँ व्यक्तिगत तवरले सहयोग गर्नेछु’, उनले भने ।

चलचित्र नगरीमा विमानस्थल, पाँचतारे होटल, चलचित्र निर्माणका लागि उपयुक्तस्थल लगायत नेपाली चलचित्र क्षेत्रलाई उद्योगका रुपमा विकास गर्ने किसिमका संरचना निर्माण गर्ने गरी विस्तृत परियोजना प्रस्ताव तयार गरिएको पूर्वमन्त्री बस्नेतले बताए । यो स्थलको वरपर त्रिपुरासुन्दरी, कालिञ्चोक र भीमेश्वरलगायतका धार्मिक आस्थाका केन्द्र पनि छन् । करिब दुई दशकअघि दक्षिण एशियाकै ठूलो खरिढुंगा म्याग्नेसाइट उद्योग सञ्चालन गरिए पनि पछि बन्द हुँदा एक हजारभन्दा बढीले रोजगारी गुमाएका थिए ।

नेपाल टेलिभिजनका पूर्वप्राविधिक प्रकाशजंग कार्कीले अमेरिकाको लस एञ्जल्समा निर्माण गरिएजस्तै चलचित्र नगरी खरिढुंगामा निर्माण गरिनुपर्ने बताए । ‘लस एञ्जलसको त्यो स्टुडियो चलचित्र छायांकनका लागि प्रसिद्ध भए जस्तै यहाँ पनि विश्वकै निर्माता, निर्देशकलाई आकर्षित गर्ने गरी संरचना बनाइनुपर्छ, अन्तर्राष्ट्रिय जगत्का निर्माता, निर्देशक पनि चलचित्रको छायांकनका लागि यहाँ आकर्षित गरेर चलचित्र पर्यटनको विकास गर्न सकिन्छ’ उनले भने ।

खरिढुंगाबाट ६ दशमलव ५ किलोमिटरको सडक पार गरेपछि सेतीदेवी सामुदायिक वनको यो रमणीयस्थलमा पुग्न सकिन्छ । खरिढुंगा क्षेत्रमा चलचित्र नगरी स्थापनाका लागि लामो समयदेखि अभियान चलाइरहनुभएका कलाकार श्रेष्ठले यो डाँडामा संरचना निर्माणको प्रस्ताव राख्दा धेरैले नपत्याएको जानकारी दिए ।

बोर्डकी अध्यक्ष निकिता पौडेलले आवास गृहसहित चलचित्र छायांकनका लागि ‘आउटडोर’ र ‘इनडोर’ का संरचना पनि निर्माण गर्ने गरी परियोजना प्रस्ताव तयार भएको बताइन् । चलचित्र नगरी निर्माणका लागि केही दिनमै टेण्डर आह्वानको तयारी भएको पनि उनले बताइन् । भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेतले नगरपालिकाको वडा नं ९ स्थित प्राकृतिक सौन्दर्यले भरिपूर्ण डाङ्डुङे डाँडामा निर्माण हुने चलचित्र नगरीका लागि स्थानीय सरकारका तर्फबाट गर्न सकिने सबै साथ र सहयोगको प्रतिबद्धता व्यक्त गरिन् ।
(राससबाट)