प्रगतिको साहित्यिक बिर्सिएको मृत्यु

काठमाडौं । प्रगति राईको उपन्यास ‘बिर्सिएको मृत्यु’ सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार आयोजित कार्यक्रममा कवि विप्लव प्रतीक, संगीत श्रोता, लेखक उज्ज्वल प्रसाईं, सञ्चारकर्मी नितु पण्डित, विजया केसी लगायतले पुस्तकको संयुक्त रुपमा विमोचन गरे । पुस्तकमाथि बोल्दै विप्लव प्रतीकले भूकम्पको पृष्ठभूमिमा रहेर त्यसपछिको त्रास, सामाजिक संरचनामा देखिएको असरलाई लेखकले सबल तरिकाले उठाएको बताए । ‘यहाँ प्रयुक्त पात्रहरुमा भूकम्पपछि देखिने मनोदशा र जीवनप्रतिको आशालाई सकारात्मक रुपमा देखाइएको छ,’ उनले भने, ‘जस्तोसुकै आपतविपतमा पनि सबै वर्गका मानिस एकै तहमा आइपुग्छन् र तिनका मानवीय संवेदना समान बन्छन् भनेर उपन्यासमा सूक्ष्म तरिकाले खोतलिएको छ ।’

उपन्यासमा प्रकोपपछि घरपरिवार गुमाएको पात्रमा देखिएको मृत्युन्मुख मनोदशामा लेखकले जीवन भरेर पुनः जीवनबोधको चेतना भरेको उज्ज्वल प्रसाईंले बताए । ‘सहरमुखी प्रवृत्ति र पलायनवादी सोचमाथि उपन्यासले आशा भर्ने प्रयास गरेको छ,’ उनले भने । आफूलाई उपन्यास नै पढ्नमा बढी रुचि हुने भन्दै पछिल्लो समय कतिपय लेखकहरुमा सकीनसकी उपन्यासको लोभमा लागिरहेको प्रवृत्तिबारे पनि उने चर्चा गरे ।

अर्का वक्ता संगीत श्रोताले पछिल्लो समय जुन समुदायबाट साहित्य लेखिइरहेको छ, त्यसमा प्रगति राईको उपस्थिति उत्साहजनक रहेको भनाइ राखे । संकटपछि सामान्य परिवारमा देखापरेको मनोदशा, पारिवारिक विघठन र समस्या उपन्यासमा यथार्थ ढंगले आएको उनले बताए । पात्रहरु सामान्य देखिए पनि तिनको सामाजिक चिन्तनसँगै लेखकले आफ्नो विचारलाई उपन्यासमा सहज ढंगले पस्किएको उनको भनाइ थियो ।

कार्यक्रमका सहजकर्ता दीपक सापकोटाले राखेको जिज्ञासमा लेखक राईले उपन्यास तयार गर्ने क्रममा आफू सिन्धुपाल्चोक गएर कथा टिपेर ल्याएको प्रस्ट्याइन् । ‘जीवन भत्किएपछि त्यसलाई यत्तिकै छाड्ने कि पुनः शून्यबाट सुरु गर्ने भन्ने लाग्यो,’ उनले भनिन्, ‘अनेक जटिलताहरुबीच पनि जीवनप्रति मोह जगाउन सकियो भने त्यसले बाँच्ने प्रेरणा दिन्छ । निराशाले निम्त्याउने मृत्युलाई बिर्सिएर जीवनको उज्यालो पक्षतिर अघि बढ्नुपर्छ, मैले पात्रहरुलाई यही उज्यालो देखाउन खोजको छु ।’ उपन्यासलाई इन्डिगो इन्कले प्रकाशन गरेको हो । लेखक राईका यसअघि कवितासंग्रह ‘बादी विज्ञप्ति’ र उपन्यास ‘लेखककी स्वास्नी’ प्रकाशित छन् ।