रत्न र योगेशलाई कृपा संगीत रत्न सम्मान

काठमाडौं । ‘सम्वृद्धिको लागि संगीत’ भन्ने नाराका साथ स्थापना भएको कृपा फाउन्डेसनले आफ्नो पहिलो वार्षिकोत्सवको अवसर पारेर गीतकार तथा साहित्यकार रत्नशमशेर थापा र गायक योगेश वैद्यलाई ‘कृपा संगीत रत्न सम्मान’ बाट सम्मानित गरेको छ । फाउन्डेसन अध्यक्ष शिवकुमार लामिछाने, गायक प्रेमध्वज प्रधान, फाउन्डेसन संरक्षक बराह ज्वेलरी प्रमुख विष्णुमाया लामिछाने, बराह ज्वेलरी धरान प्रमुख मानबहादुर विकले संयुक्त रुपमा दोसल्ला ओढाउदै प्रमाण पत्रद्वारा सम्मान गरेका थिए ।

कार्यक्रममा किड्नीमा समस्या आएपछि उपचार गराईरहेका पप किङ ओमविक्रम विष्टलाई फाउन्डेसनको तर्फबाट ५१ हजार रुपैंयाँ प्रदान गरिएको थियो । गायक विष्ट अमेरिकामा रहेपछि उनको छोरा शिखरविक्रम विष्टले लिएका थिए । कार्यक्रममा गायक शिव लामिछानेले समर्पित स्रष्टाका केहि गीत प्रस्तुत गरेका थिए । उनले रत्न शमशेर थापाद्वारा रचना गरिएको तथा स्वरसम्राट नारायण गोपालद्वारा संगीत तथा स्वर दिइएको गीत ‘स्वर्गकी रानी’, शिव अधिकारी लिखित तथा संगीतकार नातिकाजीद्वारा संगीत तथा योगेश बैधद्वारा स्वर दिइएको गीत ‘सपना भुलाई सारा’ र एल्वर्ट सुब्बालिखित, रोबर्ट सुब्बाद्वारा संगीतमा गायक ओम बिक्रम विष्टद्वारा स्वर दिइएको गीत ‘म मौनतामा’ लाइभ प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सगरमाथाको आरोहण गर्ने तयारीमा रहेका महिला पत्रकारको समुह ‘फष्र्ट वुमन जर्नालिष्ट एभरेष्ट एक्सपिडिसन २०१८’लाई बराह ज्वेलरीको तर्फबाट पाँच लाख प्रदान गरिएको थियो । फाउन्डेसनको पहिलो वार्षिकोत्सवकै अवसरमा ‘जय नेपाल’ बोल रहेको गीतको भिडियो पनि सार्वजनिक गरिएको थियो । गीतमा हर्कुलस बस्नेतको शब्द तथा संगीत रहेको छ भने यसलाई शिव लामिछानेले गाएका छन् । गीतको भिडियोमा शिव आफै प्रस्तुत भएका छन् भने यसमा नेपालको सौन्दर्यतालाई देखाइएको छ । हिमाली तथा पहाडी भेगको रमणीय दृश्य कैद गरिएको भिडियोमा सथानीय संस्कृतिलाई पनि समेटिएको छ । गीतलाइ विनय कन्स्कारले सम्पादन गरेका हुन् भने यसलाई नरेन लिम्बुले निर्देशन गरेका हुन् । गीतको छायाँकन नरेन र विनयले संयुक्त रुपमा गरेका छन् ।

कार्यक्रममै कृपा अन्प्लगडका आर्टिस्टलाई रोयल्टी प्रदान गरिएको थियो भने पहिलो र दोस्रो सिजनको सफलतापछी तेस्रो सिजन छिटै आउने जानकारी पनि गराइएको थियो । साथै कृपा ब्याण्डसंगै शिवले लाइभ प्रस्तुति पनि दिएका थिए । उनले आफ्नै गीतहरु जानिन कि मैले, रेशमी घुम्टो, किन दुख्छ मुटु मेरो र चाहे माया गर या उपस्थित निम्तालु माझ प्रस्तुत गरेका थिए । कृपा फाउन्डेसनका एमडी अनुप प्रकासको संयोजकत्वमा भएको कार्यक्रमलाई लोकप्रिय सञ्चारकर्मीले संचालन गरेका थिए ।