प्रियंकाको प्रेमको फन्दामा परे दीपक !

काठमाडौं । फिल्म ‘शत्रु गते’ को अफिसियल फष्टलुक सार्वजनिक भएको छ । फिल्मको रिलिजको लागि एक महिनाको समय बाकी रहँदा निर्माण युनिटले पोष्टर सार्वजनिक गरेको हो । सार्वजनिक पोष्टरमा हरिवंश आचार्य र दीपाश्री निरौला , दीपकराज गिरी र प्रियंका कार्की तथा पल शाह र आंचल शर्माको जोडी देखाइएको छ । फिल्मनगरीमा तिन पुस्ताको रुपमा बुझिने यिनलाई नै समेटेर पोष्टर तयार गरिएको छ । फिल्मको एक पोष्टरमा प्रहरी बनेकी प्रियंकाले दीपकलाई गलबन्दी समातेर फन्दामा पार्न खोजेको देख्न सकिन्छ ।

निर्देशक प्रदिप भट्टराईले फिल्मको थीम अनुसार नै पोष्टर बनाइएको बताए । श्रीधर पौडेलको फोटोग्राफी रहेको यस पोष्टरलाई टौवा क्रिएसनका लागि विजय बस्याल र शान थापाले तयार गरेका हुन् । फिल्ममा मदनकृष्ण श्रेष्ठ, किरण केसी, शिवहरी पौडेल लगायतको पनि अभिनय रहेको छ । फिल्मको सार्वजनिक पहिलो गीत रुपै मोहनी ९४ लाख पटक युट्युबमा हेरिसकिएको छ भने दोस्रो सार्वजनिक गीत पिरतीको बर्कोलाई पनि दर्शकले रुचाइरहेका छन् ।

मह सञ्चारको ब्यनारमा निर्माण गरिएको फिल्मका प्रस्तुतकर्ता किरण केसी हुन् । फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ । पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन् । यसमा छायाँकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । यसमा दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरी पौडेल , यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् । फिल्म चैत्र ९ मा रिलिज हुनेछ ।