मुस्ताङलाई चिनाउन एल्बममा हाम्रो मुस्ताङ

काठमाडौं । घुम्नका लागि सर्वाधिक रुचाइने ठाउँ मुस्ताङलाई विश्वसामू थप चिनाउन ‘हाम्रो मुस्ताङ’ नामक एल्बम श्रोतामाझ आएको छ । प्रतिनिधि सभाका सांसद रविन्द्र अधिकारी, गीतकार संघका अध्यक्ष चुडामणि देवकोटा, एल्बमका गीतकार विपिन किरण, संगीतकार मिलन मोक्तान, पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशीलगायतले एल्बम सार्वजनिक गरे । कार्यक्रममा सांसद अधिकारीले एल्बमको शीर्ष गीतको भिडियो पनि सार्वजनिक गरेका थिए ।

गीतमा गायिका टीका प्रसाईंको स्वर छ । भिडियोमा सन्तोष कोन्मेको निर्देशन, छायांकन तथा सम्पादन रहेको भिडियोका परिकल्पनाकार बादल थकाली हुन् । एल्बमका परिकल्पनाकार बादलले एल्बममार्फत मुस्ताङको प्राकृतिक सौन्दर्यसहित कोरला नाका खुलाउनका लागि आह्वान गर्न खोजिएको खुलाए ।

सात गीत रहेको एल्बममा टीका प्रसाईं, कृष्ण काफ्ले, रेश्मा पुन र लेखराज गुरुङको स्वर तथा मिलन मोक्तानको सोलो संगीत छ । गीतमार्फत मुस्ताङको पर्यटकीय आकर्षण, धार्मिकस्थल, कला, संस्कृतिलाई उजागर गरिएको छ ।