स्वर्णिम रहस्यको रकम समाजसेवामा

काठमाडौं । अस्ट्रेलिया निवासी नेपाली लेखक खेम शर्माले आफ्नो पुस्तकको सबै रकम समाजसेवामा खर्च गर्ने बताएका छन् । आइतबार राजधानीमा पुस्तक सार्वजनिक कार्यक्रममा उनले यो घोषणा गरेका हुन् ।

शर्माको पुस्तक उपराष्ट्रपति भवनमा उपराष्ट्रपति नन्दबहादुर पुनले सार्वजनिक गरेका थिए । कार्यक्रममा लेखक शर्माले आफ्नो पुस्तकबाट प्रेरित भएर समाजसेवा गर्न सजिलो बनाउने वेबसाइट ‘डब्लुडब्लुडब्लुडटस्वर्णीमयुगडटओआरज’को समेत उपराष्ट्रपति पुनले सार्वजनिक गरे ।

उपराष्ट्रपति पुनले पुस्तकसँगै वेबसाइट पनि निकै उपयोगी भएको बताए । उनले अनुशासित जीवनशैली अपनाउन प्रेरित गर्ने पुस्तक सबैले अध्ययन गर्नुपर्नेमा जोड दिए ।

शिक्षा तथा विज्ञान प्रविधि मन्त्री बोधमाया यादवले फाउन्डेसनले सामाजिक सेवामा नयाँ चरणको सुरुवात गरेको बताइन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले आफू यो फाउन्डेसनको हरेक गतिविधिमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरे ।गैर आवासीय नेपाली अभियन्ताहरू डा. उपेन्द्र महतो, डा. शेष घले, भवन भट्ट, धर्मराज अधिकारी, विजय पोखरेल, समिम अनबर, बद्री बरुवाल लगायतले पनि यो अभियानमा आफ्नो एक्यबद्धता रहेको बताए ।

पुस्तक पढेपछि आफू पनि प्रभावित भएर अभियानमा सामेल भएको प्राविधिक शिक्षाविज्ञ खेम लकाईले बताए । कार्यक्रमको अध्यक्षता पत्रकार मनऋषि धितालले गरेका थिए ।