विललाई ओस्कारमा १० वर्ष प्रतिबन्ध

लसएञ्जल्स(एजेन्सी) । ओस्कार अवार्डको समयमा हलिउड अभिनेता विल स्मिथले कमेडियन क्रिस रकमाथि थप्पड हानेको घटना विलका लागि महंगो साबित भएको छ । एकेडेमी मोसन अफ पिक्चर आर्टस एण्ड साइन्सेज(ओस्कार)ले विलमाथि शुक्रबार आगामी १० वर्षसम्मका लागि ओस्कारमा सहभागिता जनाउन प्रतिबन्ध लगाएको छ ।

एकेडेमीका अध्यक्ष डेविड रुबिनले यो कुराको पुष्टि गरेका छन् । ‘यो वर्षको ओस्कार अवार्डको समयमा मञ्चमा क्रिस रकलाई थप्पड हानेका कारण विललाई आगामी १० वर्षसम्म एकेडेमीको कुनै पनि कार्यक्रममा सहभागिता जनाउन रोक लगाइएको छ’, उनले भनेका छन् ।

यो निर्णयमा बोर्ड अफ गभर्नसले सहमति जनाइसकेका छन् । डेविडले यो घटनापछि विललाई हलिउडको डल्वी थिएटरमा बस्न अनुमति दिएको र उनलाई पुरस्कार दिएपछि एकेडेमीको आलोचना भएको बताए ।

ओस्कारमा भएको यो घटनापछि विल लगातार सामाजिक सञ्जालमा आलोचनाको पात्र बनिरहेका थिए । यद्यपि उनले आफ्नो भाषणमा भावुक हुँदै मञ्चमा क्रिसमाथि थप्पड मारेको माफी मागेका थिए ।

गत मार्च २७ मा लसएञ्जल्सको डल्बी थिएटरमा ९४ औं ओस्कार अवार्डमा कमेडियन क्रिसले विलकी श्रीमति जेडा पिंकेटको रोगलाई लिएर मजाक गरेपछि विलले थप्पड हानेका थिए ।