लण्डनको टप मोडल वर्ल्डवाइडमा नेपालका निशान

काठमाडौ । ‘म्यानहन्ट नेपाल २०१६’का ‘मिस्टर पर्सनालिटी’ तथा ‘टप मोडल नेपाल २०१८’ विजेता निशान चौहानले लण्डनमा हुने ‘टप मोडल वर्ल्डवाइड २०१८’ मा नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । प्रतियोगिता आगामी अप्रिल ३ मा हुँदैछ । संसारभरका मोडलहरु सहभागी हुने उक्त प्रतियोगीतामा निशान सहित ४० बढीको सहभागिता रहने राजधानीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

एक नेपालीले लण्डनमा पुगेर संसारभरका मोडलहरुसँग आफुले प्रतिष्पर्धा गर्न पाउँदा निकै गर्व लागेको पत्रकार सम्मेलनमा निशानले बताए । ‘म नेपाली भएर लण्डनमा पुगेर संसारभरका मोडलसँग प्रतिष्पर्धा गर्न पाउँदा निकै खुशी र गर्व लागेको छ’ निशानले भने, ‘नेपालीले विश्वभरका प्रतियोगीसँग प्रतिष्पर्धा गर्न लाग्दा सबैको साथ र सहयोग भएको खण्डमा सहज हुनेछ’ । उनले प्रतियोगिताको उपाधि नेपाल ल्याउन आफुले मेहनत गर्ने बताए ।

कार्यक्रममा ‘टप मोडल वल्र्डवाईड’की नेपाल र भारतकी निर्देशक रजनी सुब्बा, म्यानहन्ट नेपालका सिईओ अनुप सक्सेना, कलर्स मोबाइलकी असिस्टेन्ट मार्केटिङ म्यानेजर निरु धौगोडा, डाबर नेपालकी मिडिया म्यानेजर गीता खड्का श्रेष्ठ लगायतको उपस्थिती थियो । कार्यक्रममा प्रतियोगिताकी नेपाल र भारतकी निर्देशक रजनी सुब्बाले प्रतिष्पर्धामा पहिलोपटक नेपालको प्रतिनिधित्व गर्न लागेकोमा बधाई दिइन् ।

म्यानहन्ट नेपालका सिईओ अनुप सक्सेनाले ‘म्यानहन्ट नेपाल २०१६’का ‘मिस्टर पर्सनालिटी’ निशानलाई टप मोडलले विश्वास गरेर प्रतियोगितामा सहभागी गराएकोमा धन्यवाद दिए ।सन् २०१६ बाट मोडलिङ सुरु गरेका २९ वर्षे वीरगञ्जका निशान यतिबेला काठमाडौंमै मोडलिङमा व्यस्त छन् । निशानले नेपाली फिल्म ‘पर्व’मा समेत अभिनय गरेका छन् ।