कान्छी हेरेपछि हरिवंशः ‘स्वेताले मुटु निचोर्नुभएको छ’

काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको नायिका स्वेता खड्का अभिनित तथा निर्मित फिल्म ‘कान्छी’को आइतबार सेल्रिबेटी शो गरिएको थियो । सेलिब्रेटी शोमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, निर्देशक दिपाश्री निरौला र माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री गृहमन्त्री अग्नि सापकोटाले फिल्मसँगै स्वेताको कामको तारिफ गरे ।

हरिवंशले आफूलाई फिल्म र फिल्मकी शीर्ष पात्र स्वेता राम्रो लागेको बताए । ‘स्वेताले मुटु निचोर्नु भएको छ । कलाकारको अभिनय, गीत संगीत, निर्देशकिय र छायाँकन पक्ष सबै राम्रो छ ।’ उनले भने । हरिका जोडी मदनकृष्णले पुरानो धारको भएरपनि नयाँ चिजलाई अंगालेको बताए । निर्देशक दिपाश्री निरौलाले फिल्म हेरिरहँदा स्वेताका अभिनेता पति श्रीकृष्ण श्रेष्ठलाई सम्झिएको खुलाइन् । ‘स्वेताको यो हिम्मत र साहसलाई हामी सबैले स्वागत गर्नुपर्छ,’दीपाले भनिन् । फिल्मको कथावस्तु र अभिनय राम्रो रहेको माओवादी नेता सापकोटाले बताए ।

आकाश अधिकारी निर्देशित फिल्ममा स्वेतासँगै दयाहाङ राई, नीर शाह, कामेश्वर चौरसिया, आशान्त शर्मा, विनोद न्यौपाने, प्रज्वल सुजल गिरी, अनु शाह, भूमिका श्रेष्ठलगायतको अभिनय छ । पुरुषोत्तम प्रधानको छायाँकन रहेको फिल्ममा राजनराज सिवाकोटी, अर्जुन पोखरेल र शम्भूजित बाँस्कोटाको संगीत, यम थापाको पटकथा तथा संवाद र बसन्त श्रेष्ठको कोरियोग्राफी छ ।