गीतमा मुख छोप्ने कुरा गर्दै किरण–जुनु

काठमाडौं । गायक किरण भुजेल तथा गायिका जुनु राईको युगल गीत ‘मुख छोपी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । संगीतकार अनिल शाहीद्वारा संगीतबद्ध उक्त गीतका शब्दहरु सुवोध सुधाकर रिजालले रचना गरेका हुन् । गीतमा अनिल शाहीकै संगीत संयोजन छ । भिषण मानन्धरले प्रोग्रामिङ गरेको उक्त गीतलाई प्रकाश केसीले मिक्सिङ गरेका छन् ।

यसअघि ‘बरीलै’ तथा ‘माया मैसँग लाई देउन’ गीतबाट चर्चामा आएका गायक किरण भुजेल नेपाल आइडलका प्रतिभाशाली प्रतिस्पर्धी पनि हुन् । मोहनराज अधिकारीद्वारा निर्देशित उक्त म्युजिक भिडियोलाई नृत्यपरक बनाइएको छ । म्युजिक भिडियोमा गायक किरण भुजेल आफैंले अभिनय गरेका छन् ।

भिडियोमा उनलाई जुना सुन्दासले साथ दिएकी छिन् । अमृत सुनुवारद्वारा छायांकन गरिएको उक्त भिडियोलाई माधव बेल्बासेले सम्पादन गरेका हुन् । हाइलाइट्स नेपालको यूट्युब च्यानलबाट उक्त भिडियो सार्वजनिक गरिएको हो ।