ट्रेन्डिङ १ मा अनमोलको कृ ट्रेलर

काठमाडौं । शुक्रबार साँझ युट्युबमा सार्वजनिक फिल्म ‘कृ’को ट्रेलरले नेपाली युट्युब ट्रेन्डिङमा नयाँ रेकर्ड कायम गरेको छ । फिल्मको ट्रेलर सार्वजनिक भएको २४ घण्टा नपुग्दै साढे ५ लाख बढी दर्शकले हेरेका छन् । फिल्मको ट्रेलरले युटुबमा नेपाली फिल्मको ट्रेलरले यसअगाडि बनाएको सबै रेकर्डलाई तोडिदिएको छ ।फिल्मको ट्रेलर सार्वजनिक भएको ६ घन्टामै ट्रेन्डिङको तेश्रो स्थानमा पर्न सफल भएको थियो । त्यसको केहि घन्टामै ट्रेलर नेपाल ट्रेन्डिङको दोश्रो स्थानमा उक्लन सफल भयो ।

अब, फिल्मको ट्रेलर सार्वजनिक भएको १९ घन्टामै नेपालमा युटुब ट्रेन्डिङको नम्बर १ स्थानमा उक्लिएको छ । कुनै पनि फिल्मको ट्रेलर यसअगाडि सार्वजनिक भएको यति छोटो समयमा नै ट्रेन्डिङको पहिलो स्थानमा उक्लन सफल भएको थिएन ।

यस्तै, यसले आक्रामक भ्यूजको पनि रेकर्ड राखेको छ । ट्रेलर सार्वजनिक भएको २ घन्टामै १ लाख पटक हेरिएको पहिलो ट्रेलर नै ‘कृ’को बनेको छ । यस्तै, चलचित्र ‘ए मेरो हजुर २’को ट्रेलर सार्वजनिक भएको २४ घन्टामा ५ लाख ५ हजार पटक हेरिएको थियो । तर, ‘कृ’ले युटुबमा यो रेकर्ड पनि तोडेको छ । यसलाई, सार्वजनिक भएको २० घन्टामै ५ लाख ७१ हजार भन्दा बढी पटक हेरिएको छ ।

नायक अनमोल केसीको क्रेज र लामो समयको प्रतिक्षाका कारण पनि युटुबमा चलचित्रको ट्रेलरले यो आक्रामक प्रतिक्रिया पाएको हो । युटुबमा १९ घन्टामै २७ हजार भन्दा बढी लाइक्स र ६ हजार भन्दा बढी कमेन्ट ‘कृ’को ट्रेलरले प्राप्त गरेको छ ।

सुवास गिरी र भूवन केसी मिलेर निर्माण गरेको चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । अनमोल केसी, अदिती वुढाथोकी, अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल लगायतका कलाकारले चलचित्रमा अभिनय गरेका छन् । माघ २६ गतेबाट रिलिज हुने चलचित्रले बक्स अफिसमा यस्तै आक्रामक व्यापार गर्ने अड्कल काटिएको छ । अष्ट्रेलिया, जापान, कतारमा पनि चलचित्र ‘कृ’को ट्रेलर ट्रेन्डिङमा पर्न सफल भएको छ ।

Leave a Comment