फिल्ममेकरलाई आयो ‘हिरो सिक्स’

काठमाडौं । फिल्म सुटिङका लागि चाहिने सम्पूर्ण सामान उपलब्ध गराउँदै आएको आइसफल प्रडक्सनले फिल्मकर्मीलाई लक्षित गर्दै गोप्रो कम्पनी अन्तर्गत उत्पादन हुँदै आएको हिरोको छैटौं भर्सन बजारमा आएको जानकारी गराएको छ । शनिबार ठमेलस्थित मुलबरी होटलमा औपचारिक कार्यक्रमको आयोजना गर्दै नयाँ विशेषतासहितको ‘हिरो सिक्स’को बारेमा फिल्मकर्मी तथा बिक्रेतालाई जानकारी गराएको हो । आइसफल गोप्रोको आधिकारिक बिक्रेता हो ।

कार्यक्रममा आइसफल टेक्नोलोजीका निर्देशक भिम थापाले गोप्रोको नयाँ क्यामरा फिल्मकर्मीका लागि उपयुक्त हुने दाबी गरेका थिए । ‘नेपालको सुटिङमा जुन खालका समस्या छन् गोप्रोको हिरो सिक्समा त्यसलाई सजिलो बनाउने विशेषता छन्,’ उनले भने, ‘ किनकि यो संस्करणबाट खिचेको क्यामराको आउटपुट फोके बराबरको छ । अनि, तपाईंले खिचिरहँदा हल्लिएला भन्ने चिन्ता छैन । किनकि यो भित्र अटोमेटिक रुपमा स्टेबलाइजेसन सिस्टम छ अर्थात जति हल्लाए पनि तपाईंको भिज्युवल हल्लिदैन ।’ उनले भीड र दौडिएको दृश्यहरु खिच्न यस्ता क्यामरा उपयुक्त हुने बताए ।

आइसफल प्रडक्सनका निर्माता रामकृष्ण पोखरेलले गोप्रोको हिरो सिक्स ‘वाटरप्रुफ’ रहेको बताए । ‘हिरो सिक्सले १० मिटर गहिराइसम्म निर्धक्क पानी भित्रको दृश्य खिच्न सक्छ । फिल्मकर्मीले अड एंगल वा एक्सनको सट लिन पर्यो भने यो उपयोगी हुन्छ,’उनले भने, ‘शरिरको जुनसुकै भागमा राखेर पनि खिच्न सकिने भएकाले यसको उपयोगिता बढी छ ।’ सन् २०१२देखि नेपालमा गोप्रो बेच्दै आएका पोखरेलले नेपालमा किन्दा क्यामराको मूल्य ५५ देखि ६० हजारसम्म पर्ने बताए ।

Leave a Comment