एड्रिन गुञ्जिँदा उर्लियो धरान

धरान । गत मंगलबार धरानको पब्लिक स्कुलको मैदानमा साँझ साढे पाँचबजे देखि करीब ६ घण्टासम्मको ‘टुबोर्ग मेगा लाइभ कन्सर्ट २०१७’ विगतका अन्य कन्सर्ट भन्दा भव्य रह्यो । कन्सर्टको प्रमुख आकर्षणका रुपमा रहेका चर्चित गायक एड्रिन प्रधान रातको करिब १० बजेतिर आफ्नो फ्रेन्ड्स ब्याण्डका साथ स्टेजमा उक्लिँदा उनको प्रतिक्षामा रहेका युवा दर्शकहरुले हुटिङ र तालीको फोरा नै छुटाए ।

एड्रिनले धराने दर्शकको मागलाई ध्यानमा राख्दै डेढ घण्टामा ‘नभन मेरो’, ‘परेलीमा’, ‘हिँड्दा हिँड्दै दोबाटोमा’, ‘पहिलो जुनीमा’, ‘धेरै धेरै आउँछ मनमा’, ‘पिँजडाको सँुगा’, ‘बिर्सेर मलाई’, ‘अभिवादन’, ‘खैरो खैरो कपाल तिम्रो’, ‘गुरासै फुल्यो’, ‘जति माया लाए पनि’, ‘सगरमाथा हाम्रै हो’, ‘यो मन त मेरो नेपाली हो’हुँदै ‘सम्बोधन तिमीलाई’ बोलको गीत गाएर कन्सर्टको मैजारो गरे ।
एड्रीनका प्रत्येक गीतमा दर्शकले एड्रिनसँगै गाउँदै साथ दिएका थिए । करिब पाँच वर्ष पछि धरानको कन्सर्टमा देखा परेका एड्रिन रातिसम्म पनि संयमित धराने दर्शक देखेर खुशी भए । नेपाल क्लब तथा हङकङ नेपाली महासंघको अध्यक्ष रिता गुरुङको सभापतित्व र धरान उपमहानगरपालिकाको उपमेयर मञ्जु भण्डारीको प्रमुख आतिथ्यमा भएको कन्सर्ट धरान–१३ अमरहाटमा धरान बाल उद्यान तथा हेल्थ पार्क निर्माण गर्न आयोजना गरिएको थियो ।

नेपाल क्लब, हङकङको आयोजना तथा सिल्भर इन्टरटेनमेन्टको इभेन्ट म्यानेजमेन्ट तथा टुबोर्ग बियरको प्रस्तुति तथा बराह ज्वेलरीको प्रायोजनमा आयोजनामा भएको कन्सर्टमा धराने गायक डिल्ली फोम्बो, शिव लामिछानेले आफ्ना गीत सुनाएका थिए । त्यस्तै उर्जा ब्याण्डका गायक प्रशान्त शर्मा, पुराना गायक नवराम राई, मनोज मोते, रमेश राई, बबिन लिम्बु, एपी शेर्पा, साक्थिम योङ्याङ, तुहिन लिम्बुले पनि आफ्ना गीत गाएका थिए ।