बुनुले ल्याइन झिमझिम परेलीमाको रिमेक भर्सन

काठमाडौ । पुरानी गायिका बुनु श्रेष्ठले सांगीतिक क्षेत्रमा पुनरागमन गरेकी छिन् । एक दशकअघि नै लोकप्रिय भएको आफ्नै गीतलाई गायिका श्रेष्ठले रि–रेकर्ड गरेर दर्शक तथा स्रोतासमक्ष ल्याएकी हुन् । ‘झिमझिम परेलीमा’ शीर्षकको उक्त गीतलाई रि–एरेञ्ज गर्दै गायिका श्रेष्ठले यसलाई नयाँ स्वरुप प्रदान गरेकी हुन् । उक्त गीतको म्युजिक भिडियो हालै यूट्युबमार्फत सार्वजनिक भएको छ ।

सुरिलो स्वरकी धनी गायिका श्रेष्ठले लामो समयपछि आफू दर्शक तथा स्रोतामाझ आउँदा समेत राम्रो स्वागत पाएको बताएकी छिन् । दिवंगत संगीतकर्मी स्व.सुनिल वर्देवाद्वारा संगीतबद्ध उक्त गीतका शब्दहरु गायिका श्रेष्ठले नै रचना गरेकी हुन् । यो गीतको रेकर्डिङ कार्य स्टुडियो साउण्ड मिलमा चर्चित रेकर्डिष्ट महेश्वरमान राजभण्डारीले गरेका हुन् । गीत सुन्दा जति कर्णप्रिय छ, गीतको म्युजिक भिडियो पनि उत्तिकै आकर्षक बनेको छ । भिडियोमा मोडल तथा अभिनेत्री एलिशा राईले आकर्षक नृत्य प्रस्तुत गरेकी छिन् ।

एलिशालाई साथीहरुले नृत्यमा साथ दिएका छन् । प्रशान्त तामाङले कोरियोग्राफी गरेको यो भिडियोको छायांकन रामशरण उप्रेती र मदन घिमिरेले गरेका हुन् । नितिन चन्दको निर्देशनमा तयार भएको यो भिडियोलाई दिन्सोन शाले सम्पादन गरेका हुन् । भिडियोलाई स्टुडियो साउन्ड मिलले बजार व्यवस्थापन गरेको छ भने स्टुडियो साउन्ड मिलकै आधिकारिक यूट्युब च्यानलबाट भिडियो सार्वजनिक गरिएको छ ।