शिल्पालाई भेट्दा छविकी आमाले सोधिन्ः शिल्पा तिमी नै हो ?

काठमाडौं । आगामी फागुन २५ गतेबाट अल नेपाल रिलिज हुन लागेको फिल्म ‘मंगलम्’ प्रचारप्रसारको लागि यतिबेला देश दौडाहामा छ । नेपाली फिल्ममा ‘बा’का रुपमा परिचित छविराज ओझाले निर्माण गरेको फिल्मको प्रचारको लागि फिल्म युनिट हालै छविराजको गृहजिल्ला धरान पुगेको थियो । फिल्म प्रचारकै लागि धरान पुगेको फिल्मको टोली धरानमा रहेको छविराजको घरमा ननिस्कई प्रचारयात्रालाई अगाडि बढाउन सकेन । छविकी ९४ वर्षीया आमा डम्बरकुमारी ओझालाई फिल्म युनिटले भेट्दा माहौल निकै रमाइलो बनेको थियो ।

फिल्मका निर्देशक नवल नेपालका अनुसार आमा डम्बरकुमारीले फिल्म ‘मंगलम्’को बारेमा निकै चासो लिएकी थिइन् । कान कम सुन्ने गरेकी डम्बरकुमारीले त्यहाँ पुगेका कलाकारसँग परिचय गरिरहँदा फिल्मकी प्रस्तुतकर्ता तथा नायिका शिल्पा पोखरेलले पनि आफ्नो परिचय दिएकी थिइन । शिल्पाको परिचय पाउनासाथ डम्बरकुमारी अचम्मित भएकी थिइन् । ‘ए शिल्पा भनेको तिमी नै पो हो,’डम्बरकुमारीको भनाई उदृत गर्दै निर्देशक नवल नेपालले भने ।

शिल्पा र छविराजको सम्बन्धलाई लिएर समय समयमा अनलाइनमा समाचार बनिरहेका हुन्छन् । छोरा छविराजको आमाले पनि छोरा र शिल्पाबीचको सम्बन्धलाई लिएर आइरहने समाचारका बारेमा थाहा पाएको अनुमान उनको अभिव्यक्तिबाट पनि प्रष्ट बुझ्न सकिन्थ्यो । निर्देशक नेपालका अनुसार छविराजकी आमाले छविराजलाई मंगलम्ले मंगल गरोस् भनेर आशिर्वाद दिएकी थिइन् । आमाको आशिर्वाद पाउँदा निर्माता छविसहित फिल्म युनिट दंग परेका थिए । फिल्मको प्रचार टोलीमा निर्माता छविराज ओझा, प्रस्तुतकर्ता तथा नायिका शिल्पा पोखरेल, अर्का निर्माता साकार ओझा, नायक पुष्प खड्का र निर्देशक नवल नेपाल छन् ।