यादहरुमा आए सरोज, सुदन

काठमाडौं । गीतकार सुदन डोटेल तथा संगीतकार सरोज प्याकुरेलको एकल संगीतका गीतको संग्रह ‘यादहरु’ सार्वजनिक भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भूजीत बासकोटा, संगीत रोयल्टी संकलन समाज नेपालका अध्यक्ष सुरेश अधिकारी, गायकद्वय रामकृष्ण ढकाल तथा आनन्द कार्कीसहितका व्यक्तित्वले सुगम संगीतमा आधारित उक्त गीति एल्बम लोकार्पण गरेका हुन् । सार्वजनिक भएको उक्त एल्बममा विभिन्न गायक–गायिकाको स्वरका पाँचवटा गीतहरु समावेश छन् ।

संगीतकार बासकोटाले गीतकार डोटेलका शब्दहरुको प्रशंसा गर्दै उनलाई सांगीतिक क्षेत्रमा स्वागत गरे । झण्डै डेढ दर्जन गीतहरु रेकर्ड गराइसके पनि ‘यादहरु’ गीतकार डोटेलका शब्दहरुको पहिलो एकल एल्बम हो । बासकोटाले संगीतकार प्याकुरेलमा सांगीतिक क्षमता रहेको प्रतिक्रिया दिँदै उनको सांगीतिक भविष्यको कामना समेत गरे । संगीतकारको रुपमा प्याकुरेलको पनि यो पहिलो एल्बम हो ।

समारोहमा संगीतकार प्याकुरेल तथा गीतकार डोटेलले गीति एल्बम तयार पार्ने क्रममा भोगेका तीता–मीठा क्षणहरुको बारेमा रमाइला प्रसंगहरु प्रस्तुत गरेका थिए । विमोचित एल्बमका गीतहरुमा रामकृष्ण ढकाल, आनन्द कार्की, स्वरुपराज आचार्य, हेमन्त शर्मा तथा रीता केसीका स्वरका गीतहरु समावेश गरिएका छन् ।

कार्यक्रममा गायक आनन्द कार्कीले संग्रहमा समावेश ‘कहिले तिमी याद’ शीर्षकको गीत प्रत्यक्ष सुनाएका थिए । समारोहमा संगीतकार सरोज प्याकुरेलकै निर्देशनमा तयार भएको ‘म भन्दा माथि मेरो देश छ’ गीतको म्युजिक भिडियो प्रिमियर गरिएको थियो । उक्त राष्ट्रिय गीतमा गायक रामकृष्ण ढकालको स्वर समावेश छ ।