मोहिनी सारिकाको मुख चिसिएपछि…

काठमाडौं । नायिका टर्न गायिका सारिका घिमिरे एल्बम ‘मोहनी’ लिएर संगीत क्षेत्रमा आइसकेकी छन् । यतिबेला उनी एल्बमको गीतको भिडियो बनाउने अभियानमा व्यस्त छिन् ।

एल्बममा रहेको ‘काले दाईको’ गीतको भिडियो लिएर आएकी उनले दोस्रो भिडियो ‘मुखै चिसो बनायो मुलको पानीले’ ल्याउँदै छिन् । गीतको भिडियोको राजधानीस्थित वल्र्ड ट्रेड सेन्टरमा छायांकन गरिएको छ ।

मिसन इन्टरटेन्मेन्टको प्रस्तुति रहेको भिडियोमा राजन लामाको छायाँकन र रुद्र बोहराको निर्देशन छ । गीतको भिडियोमा बी गोर्खाली ब्वाइजसँगै दिक्पाल कार्की र सारिकाले फिचरिङ गरेका छन् । सञ्चारकर्मी तथा लेखक शान्तिप्रियले लेखेको गीतमा सारिकाको स्वर र दीपक शर्माको संगीत छ ।

‘गीतको भिडियो निक्कै राम्रो बनेको छ, बी गोर्खाली ब्वाइजसँग पहिलो पटक काम गरें । सबैले उत्तिकै मिहिनेत गरेका छौ’, सारिकाले भनिन् ।