लालपुर्जामा जग्गाको लफडा !

काठमाडौं । माघ ४ गतेलाई रिलिज मिति तोक्दै फिल्म ‘लालपुर्जा’को ट्रेलर सार्वजनिक भएको छ । फिल्म युनिटले बिहीबार राजधानीमा पत्रकार माझ गीत र ट्रेलर सार्वजनिक गर्यो । निगम श्रेष्ठ निर्देशित फिल्मको ट्रेलर संवाद र संवादरहित दुवै फ्लेबरको एउटै थियो । सौगात मल्ल, बिपिन कार्की, मिरुना मगर, मेनुका प्रधान, कामेश्वर चौरासिया, हरिहर शर्मा, कुमार नगरकोटीलगायत अभिनित फिल्मले जग्गालाई लिएर हुने दाजुभाइको झगडा तथा भौतिकवाद र अध्यात्मवादको लडाइ देखाउने निर्देशक श्रेष्ठले बताए ।

अतिथि लेखक समेत रहेका उपन्यासकार कुमार नगरकोटी यसमा केमियो भूमिकामा छन् । उक्त अवसरमा निर्माण कम्पनी नेगेटिभ बुद्धले निर्माण गर्न लागेको नयाँ फिल्म ‘ज्ञ’लाई नगरकोटीले निर्देशन गर्ने जानकारी दिइयो ।  ‘कथा, निर्देशन र संवाद मैले उक्त फिल्ममा गर्दैछु’ नगरकोटीले भने, ‘लालपुर्जा मेरा लागि मात्र फिल्म नभएर उत्सव समेत हो ।’

निर्माता विक्रमसिंह थारुले माघ ४ गते कलाकारिताको महाकुम्भ भएको बताए । अभिनेता हरिहर शर्माले अहिलेसम्म आफूले गरेको भूमिकाभन्दा लालपुर्जा चरित्र चित्रणमा भिन्न रहेको बताए ।