महामुर्खमाझ आयो भोर फष्टलुक

काठमाडौं । रंगको पर्व फागु पुर्णिमा अर्थात होलीको अवसर पारेर फिल्म ‘भोर’को फस्र्टलुक सार्वजनिक भएको छ । तराई भेगमा विद्यमान दाइजो प्रथाको विषयमा निर्माण गरिएको फिल्म वैशाख २१ बाट प्रदर्शनमा आउँदैछ । जनकपुरमा परस्परागत रुपमा फागु पुर्णिमाको छेकोमा हुँदै आएको महामुर्ख सम्मेलनमा निर्देशक यादवकुमार भट्टराईले फिल्मको पोस्टर सार्वजनिकसँगै रिलिज मिति घोषणा गरे ।

सति प्रथाको विषयमा फिल्म ‘झोला’ निर्माण गरेर प्रशंसा बटुलेका यादवको समूहले नै ‘भोर’लाई दर्शकमाझ ल्याउन लागेको हो । फष्टलुकमा अभिनेत्री डली सरकार बेहुलीको भेषमा प्रस्तुत भएकी छन् भने पृष्ठभूमिमा जानकी मन्दिरलाई देखाइएको छ । फष्टलुकमै एक वृद्धले उनै डलीलाई साईकलमा हिडाउँदै गरेको समेत देखाईएको छ ।

निर्देशक भट्टराईले दाइजोलाई महिला हिंसाको रुपमा नलिएर मानव हिंसाको रुपमा लिनु पर्ने भन्दै यो पटक पनि नेपाली समाजको यथार्थतालाई लिएर दर्शकमाझ आउन लागेको बताए । कृष्ण धाराबासीको लेखन रहेको फिल्ममा रामनारायण ठाकुर, अनिता रानी मण्डल, राजेश सक्सेना, बिएन पटेल, डली सरकार, प्रमेश झा, बटुक राज मिश्र, अनिता देव, पुजा कर्ण लगायत कलाकारको अभिनय छ । फिल्मका कार्यकारी निर्माता देबेन्द्रप्रसाद सुवेदी हुन् । राज तिमल्सिना र राम गोपाल थापा निर्माता रहेको फिल्ममा दिपक बज्राचार्यको छायांकन छ ।