‘गाजाबाजालाई पैसासँग तुलना गर्न मिल्दैन’

काठमाडौं । झण्डै दुई वर्ष अघिदेखि फिल्म ‘गाजाबाजा’ निकै विवादमा आयो । खास गरी फिल्म दर्तादेखि यसको सुटिङ अनि प्रदर्शनको विषयलाई लिएर फिल्म निर्माण पक्ष र चलचित्र विकास बोर्डबीच विवाद नै चल्यो । विवादका बाबजुद पनि अहिले त्यो झण्झटबाट मुक्त भएर फिल्म प्रदर्शनका लागि तयार भइसकेको छ ।

हालैको भेटमा फिल्मका निर्देशक गणेशदेव पाण्डेले आफूहरुले विवाद नगरी सरकारले विवाद गरेकाले त्यसको चंगुलमा आफुहरु फसेको बताए । उनले पहिलाको बोर्ड नेतृत्वले फिल्म प्रदर्शन गर्न नदिनु र अहिलेको बोर्ड नेतृत्व फिल्म प्रति सकारात्मक हुनु नै त्यसको उदाहरण रहेको जनाए । ‘मैले विवाद शुरु गरेको होइन । विवाद त बोर्डले शुरु गरेको हो,’उनले भने,‘सरकारको विवादमा हामीलाई फसाइयो । फिल्मले गाजा खाने युवाको कथा प्रस्तुत गर्ने भएकाले पनि बोर्डले फिल्मलाई अनुमति दिन मानेन ।’

फिल्म ‘मञ्जरी’ र ‘मालतीको भट्टी’ जस्ता फिल्म निर्देशन गरिसकेका गणेशले युवा पुस्ताको कथालाई फिल्ममा देखाउन मन लागेकोले ‘गाँजाबाजा’ बनाएको बताए । ‘गाँजाबाजालाई पैसासँग तुलना गर्न मिल्दैन,’उनले भने,‘हामीले हलमा फिल्म देखाउने हो । दर्शकले फिल्म रुचाउँछन् या रुचाउँदैनन् त्यो उनीहरुको कुरा हो ।’

उनले फिल्म सेन्सर नहुनुपर्ने तर्क राखे । ‘फिल्म भनेको निर्देशकको रचना हो, त्यो रचनामा यसो गर्नु उसो गर्नु भन्ने निर्देशन मान्य हुँदैन ।’पाण्डेले भने । सुशिल सिटौला, अनुपम शर्मा, वर्षा शिवाकोटीलगायतका कलाकार स्टारर फिल्ममा गोमा विष्ट थापा, दिपेन्द्र रेग्मी र नारायणप्रसाद पाण्डेको लगानी छ । फिल्म आगामी फागुन २५ मा रिलिज हुँदैछ ।