शत्रु गतेमा रोमान्टिक मदनकृष्ण

काठमाडौं । हाँस्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य हास्यजगतका आइडल हुन् । महका रुपमा चर्चित यी दुई अनुहारमा विशेषत मदनकृष्ण फिल्म होस् या टेलिफिल्म दुवैमा वृद्ध चरित्रमा नै देखिन्छन् । हरिवंश चाहिँ फिल्म र टेलिफिल्म अनुसार चरित्र फेरिरहन्छन् । आगामी चैत्र ९ गते रिलिज हुने फिल्म ‘शत्रु गते’मा मदनकृष्ण अलिक रोमान्टिक चरित्रमा देखिँदैछन् । फिल्मको शुक्रबार सार्वजनिक ट्रेलरमा मदनकृष्ण दुई युवतीको बीचमा रोमान्टिक देखिएका छन् ।

फिल्ममा सुरक्षागार्डको लुक्समा देखिएका किरण केसीले मदनकृष्णलाई ‘सरको कारणले पनि त हाम्रो क्वार्टरको खाँट भाँच्चिएको छ भन्ने कुरा’ भन्दै संवाद बोल्नाले पनि फिल्ममा मदनकृष्णको चरित्र कस्तो छ भन्ने प्रष्ट हुन्छ । तर उनको चरित्र थाहा पाउन दर्शकले फिल्म नै हेर्नुपर्ने हुन्छ । प्रदीप भट्टराई निर्देशित फिल्ममा महसँगै दीपकराज गिरी, दीपाश्री निरौला, किरण केसी, शिवहरी पौडेल, बशुन्धरा भुसाल, रमेश रञ्जन झा, प्रियंका कार्की, पल शाह, आँचल शर्मा लगायतको अभिनय रहेको छ ।

फिल्मलाई मह सञ्चारको ब्यानरमा निर्माण गरिएको छ । किरण केसी प्रस्तुतकर्ता रहेको फिल्ममा हरिवंश आचार्यको कथा, निर्देशक भट्टराई र दीपकराज गिरीको पटकथा, प्रदिप र हरिवंशको संवाद, दीर्घ गुरुङको छायांकन र सम्पादन मित्र गुरुङको छ । फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, नरेन्द्र कंसाकार, शिवहरी पौडेल, यसोधा श्रेष्ठ र रमिला आचार्यको लगानी छ ।