कान्छी तेस्रो सातामा, दर्शकलाई स्वेताको धन्यवाद

काठमाडौं । आफूले पहिलोपटक निर्माण गरेको फिल्म ‘कान्छी’ले प्रदर्शनको तेस्रो सातामा प्रवेश गरिरहँदा फिल्मकी नायिका तथा निर्मात्री स्वेता खड्का दंग छिन् । गत फागुन ४ गते रिलिज भएको कान्छीले तेस्रो सातामा दौड्दै गर्दा स्वेताले दर्शकलाई धन्यवाद भनेकी छन् ।

‘म धेरै खुशी छु । एक हप्तामा नै फिल्महरु हलबाट ओर्लिइरहँदा मेरो फिल्म चाहिँ लगातार तेस्रो हप्तासम्म चलिरहेको छ,’उनले भनिन्,‘दर्शकको माया र म प्रतिको विश्वासले फिल्म प्रति रुची देखाइदिनुभएको छ । म सबै दर्शकलाई धन्यवाद भन्न चाहन्छु ।’ फिल्म रिलिजको दोस्रो दिन नायिका श्वेता, नायक दयाहाङ राई, निर्देशक आकाश अधिकारी, नायक प्रज्जवल सुजल गिरीको टिम गोपीकृष्ण र अष्टनारायणहल पुगेको थियो ।

महंगो बजेटमा बनेको फिल्ममा शैलेश खड्का र रविन खड्का पनि निर्माता छन् । याम थापाको लेखन रहेको फिल्ममा दया, श्वेता र प्रज्वलसँगै नीर शाह, अनु शाह, कामेश्वर चौरसिया, आशान्त शर्मा, विनोद न्यौपाने लगायतका कलाकारको अभिनय छ । पुरुषोत्तम प्रधानको छायाँकन रहेको फिल्ममा अर्जुन पोखरेल, राजनराज शिवाकोटी र शम्भूजित बास्कोटाको संगीत छ ।