पञ्चायतकी नीता भन्छिन्ः‘गर्व गर्न लायक फिल्म’

काठमाडौं । नायिका नीता ढुंगानाले दर्जन बढी फिल्ममा अभिनय गरे पनि उनलाई दर्शकले फिल्म ‘मसान’मा गरेको दमदार अभिनयले चिनाउँदै आएको छ । ऐतिहासिक कृतिमा आधारित यो फिल्ममा उनको अभिनयको सबैले प्रशंसा गरेका थिए । यिनै नायिका अब अर्को वास्तविक कथाको फिल्म ‘पञ्चायत’मा देखिँदैछिन् ।

नीता फिल्म ‘मसान’पछि ‘पञ्चायत’लाई आफूले अभिनय गरेको उत्कृष्ट फिल्म मान्दै आएकी छन् । नीताले यसै फिल्मबाट अमेरिकामा भएको फिल्म फेष्टिवलमा विश्वका २ सय १६ वटा फिल्मलाई उछिनेर उत्कृष्ट नायिकाको अवार्ड पाइन् । ‘पञ्चायतको कथामा मौलिकपन र आफ्नोपन छ । अमेरिकामा अवार्ड पाउनु मेरा लागि र नेपालकै लागि गौरवको कुरा हो,’चितवनमा पत्रकारमाझ उनले भनिन्,‘पञ्चायत गर्व गर्न लायक फिल्म बनेको छ ।’ फिल्ममा नीता १४ वर्षकी किशोरीको भूमिकामा छिन् ।

पञ्चायती शासन व्यवस्थाका बेला एउटा गाउँको सामाजिक विषय र न्याय प्रणालीलाई आधार बनाएर निर्माण गरिएको फिल्ममा अभिनेता सरोज खनाल प्रधानपञ्चको चरित्रमा छन् । ‘वर्षौवर्षसम्म अभिलेख गरेर राख्ने खालको फिल्म बनेकाले अवश्य पनि दर्शकले एकपटक फिल्म हेर्नुहुनेछ,’उनले भने,‘प्रेमपिण्ड मन पराउने दर्शकले पञ्चायत झन् हेर्नुपर्छ । एउटा कालखण्डको छाउपडी प्रथा र न्याय प्रणालीको कस्तो थियो? त्यो यसबाट प्रष्ट हुन्छ ।’

फिल्मका लेखक तथा निर्देशक शिवम् अधिकारीले निकै लामो समयपछि नेपालमा राम्रो फिल्म बनेको दावी गरे । सातवर्ष अघि तयार भएको स्क्रिप्टले पूर्णता पाएकोमा उनले खुसी व्यक्त गरे । निर्माता गणेश गिरीले सबै कलाकारको उत्तिकै मेहनत परेको र मुख्य कलाकारले पैसासमेत नलिएकाले यो फिल्म सबैको साझा भएको बताए । फिल्ममा रवि अधिकारी कार्यकारी निर्माता छन् । चैत्र २ गतेबाट अल नेपाल रिलिज हुने फिल्ममा रुपा राना, गीता अधिकारी, गणेश गिरी, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठको समेत अभिनय छ ।