बिच्छेदको फस्टलुक र टिजर

काठमाडौँ। मुकुन भुसाल र लक्ष्मी बर्देवा स्टारर नेपाली फिल्म ‘बिच्छेद’को टिजर र पोस्टर सार्वजनिक भएको छ । मङ्सिर ८ मा रिलिज हुने यो फिल्मको टिजरमा दम्पतीको सम्बन्ध र बाध्यताका कुरा समावेश गरिएको छ ।

यसअघि मुकुन र लक्ष्मीले फिल्म ‘बुलबुल’मा एकसाथ अभिनय गरेका थिए । अभिनयमा यी दुवै कलाकार उम्दा मानिन्छन् । नेपाल रिलिजसँगै अन्य विभिन्न मुलुकहरूमा समेत एकसाथ प्रदर्शनको तयारी भइरहेको निर्देशक सत्यराज चौलागाईंले बताए । यो फिल्मका निर्माताहरू राजकुमार पण्डित, दिमेश श्रेष्ठ, सुवास राई र सावित्री बज्राचार्य हुन् । सह निर्माता प्रबिन राजथला हुन् ।

अभिनेता मुकुन भुसालले लेखेको कथामा निर्देशक चौलागाईँले पटकथा लेखेका छन् । गाउँले परिवेशमा आधारित रहेको यो फिल्मको छायाङ्कन रामेछापको एक गाउँमा गरिएको छ । मुकुन र लक्ष्मीका अलावा यस फिल्ममा सुष्मा निरौला, प्रिया रिजाल, लय सङ्ग्रौला, हिउँवाला गौतम, सरिता राजोपाध्याय, लक्ष्मीनाथ तिमिल्सिना, जीवन थापा, जयराम सापकोटा लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

सङ्कल्प भुजेलको छायाङ्कन, भूपेन्द्र अधिकारी को सम्पादन रहेको छ । समीर मियाको भिएफएक्स, किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर र रेनिश फागोको कलर ग्रेडिङ रहेको छ ।

फिल्मका गीतमा एसडी योगी, सुरज थापा र आशिश महरको सङ्गीत, सत्यराज चौलागाईँ र राम अविरल विष्टको शब्द रचना रहेको छ भने एसडी योगी, सुनिता थेगिम, हृतिका श्रेष्ठ, सुरज थापा र आशिश महरको स्वर रहेको छ । सुरेन बसेल कोरियोग्राफर हुन् । फिल्मलाई काठमाडौँ उपत्यकामा रिच इन्टरटेन्मेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछन् ।