ब्ल्याकको चंगा जस्तैमा विन्दास आकाश

काठमाडौं । जेठ ११ लाई प्रदर्शनको मिति तय गरेको फिल्म ‘ब्ल्याक’ ले पहिलो गीत ‘चंगा जस्तै’ सार्वजनिक गरेको छ । गीतमा लिड अभिनेता आकाश श्रेष्ठलाई देख्न सकिन्छ । प्रतिक पौडेलको स्वर, शब्द र संगीत रहेको गीत युवापुस्ता लक्षित छ । गीतमा अभिनेता आकाशलाई विन्दास लुक्समा देखिएको छ । गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ ।

अभिनेता आकाशले फिल्मको कथाले मन छोएको कारण नै आफु आवद्ध भएको बताए । करिब चार वर्षको अन्तरालपछि निर्देशनमा फर्किएका निर्देशक प्रदिप श्रेष्ठले पछिल्लो पुस्ताका दर्शकको मनोभावना बुझ्ने गरी सोहि प्रकारको कथावस्तुमा फिल्म बनाएको बताए । निर्मात्री आश्मा पाण्डेले लगानीको प्रतिफल राम्रो पाउने आशा व्यक्त गरिन् ।

फिल्मको कथा मौनता श्रेष्ठले लेखेका छन् । रामशरण उप्रेतीले खिचेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । आँचल र आकाशसँगै सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशिल श्रेत्री, धिरेन शाक्य, प्रिया रिजाल फिल्ममा लिड अभिनयमा छन् ।