सप्तरीबाट राज्जारानीको घुम्ती सिनेमा शुरु

काठमाडौं । तराईको दाइजो व्यथालाई प्रस्तुत गरिएको फिल्म ‘राज्जा रानी’ले सप्तरीको तिरहुत गाउँपालिकास्थित लोहजारा गाउँबाट घुम्ती सिनेमाको शुभारम्भ गरेको छ । प्रदेश नम्बर २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहको प्रमुख आतिथ्य र मन्त्रालयका सचिव डा. किरण रुपाखेतीको विषेश आतिथ्यमा घुम्ती सिनेमाको शुभारम्भ गरिएको हो ।  लोहजारा गाउँका १५ सय भन्दा बढी मानिसले ठुलो पर्दा र गुणस्तरीय साउण्ड सिस्टमसहित घुम्ती सिनेमाको पहिलो शोमा आफनै गाउँ टोलमा मैथिली भर्सनको फिलम हेरेका हुन् । सामाजिक विकास मन्त्री साहले ल्याटपमा क्लिक गरेर फिल्मको मैथिली भर्सनको पहिलो घुम्ती शोको शुभारम्भ गरेका हुन् ।

भोर कम्पनीले यो फिल्मलाई मैथिली भाषामा सबटाइटल गर्दै प्रदर्शन शुभारम्भ गरेको हो । यसअघि पनि फिल्म तराईका प्रमुख सहरमा प्रदर्शन भइसकेको छ । नाजीर हुसेन र नायिका केकी अधिकारी स्टारर फिल्म आर्यन फिल्म प्रोडक्सन र भोर कम्पनीको ब्यानरमा निर्माण गरिएको हा । यम थापा निर्देशित फिल्मको सम्पूर्ण छायांकन बाँकेमा गरिएको छ । फिल्म रमेश एमके पौडेल र राजकुमार महतोले निर्माण गरेका हुन ।

भोर कम्पनीका प्रमुख राजकुमार महतोका अनुसार मैथिली भर्सनको पुरै मुनाफा नेपालको आर्थिक, सामाजिक तथा सांस्कृतिक समृद्धिमा योगदान गर्न अभियानमा खर्च गरिनेछ । घुम्ती सिनेमा प्रदेश नम्बर २ र १ का मोरङदेखि पर्सासम्मका १० जिल्लाका गाउँमा सञ्चालन गरिनेछ ।