नयाँ कलाकार जन्माउँदै शोभितको समूह

काठमाडौं । नेपाली फिल्ममा नयाँ कलाकार जन्माउन अभिनय सम्बन्धि नयाँ रियालिटी शो ‘नेपाल्स मेघा सिनेस्टार’ हुने भएको छ । ओ मेगा इन्टरटेनमेन्टले आयोजना गर्ने अभिनयको कलाकार चयन गर्ने अहिलेसम्मकै सबैभन्दा ठूलो शो हुने आयोजकको दाबी छ ।

प्रतियोगिताका निर्देशक प्रवेश सम्राट बरालले नेपालमा धेरै प्रतिभावान कलाकार भएको र उनीहरुले फिल्ममा आउन अबसर नपाएकाले त्यो मञ्च दिलाउन प्रतियोगिता गर्न लागेको बताए । बरालका अनुसार चैत्र २८ गतेबाट शुरु हुने अडिसन काठमाडौं, चितवन, पोखरा, बुटवल, नेपालगन्ज, वीरगंज, इटहरीमा हुनेछ ।

आयोजकका अनुसार शोभित बस्नेत, निश्चल बस्नेत र माल्भिका सुब्बाको समूहले उत्कृष्ट कलाकारको छनौंट गर्नेछन् । उनीहरुले उचित निर्णय गरेर उत्कृष्ट प्रतिभा नेपाली फिल्ममा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । सोमा बिजेता २० लाख नगदसहित एउटा कार, एक फिल्ममा अनुबन्धित हुने अवसर पाउनेछन् । फिल्म निर्देशक यादब खरेलले सोले छरिएर रहेका राम्रो प्रतिभा अभिनय क्षेत्रमा ल्याउने विश्वास व्यक्त गरे ।