नेप्टेमा दयाहाङ रमाइला भिलेन

काठमाडौं । अभिनेता दयाहाङ राईको नाम लिँदा अधिकांशले सरल नायकको छवि बनाएका कलाकारका रुपमा चिन्छन् । उनले अभिनय गरेका सबै फिल्ममा उनको भूमिका सकारात्मक किसिमको छ । तर अब यिनै सरल छवि बनाएका नायक फिल्म ‘नेप्टे’मा रमाइला भिलेनका रुपमा दर्शकमाझ आउँदैछन् ।

चैत्र ३० गतेबाट रिलिज हुने यो फिल्मको सोमबार पत्रकारमाझ ट्रेलर सार्वजनिक हुँदा दयाको भिलेन छवि रमाइलो किसिमको देखिएको थियो । आर रोशनी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा दयाहाङ राई, रोहित रुम्बा, वुद्धि तामाङ, अर्जुन गुरुङ, छुल्ठिम गुरुङ, पूर्णिमा लामा, प्रनिशा सिलवाल लगायतका कलाकारको मुख्य भूमिका छ ।

रोहित रुम्बाकै लगानीमा बनेको फिल्ममा देवकुमार श्रेष्ठको निर्देशन छ । ट्रेलरमा दयासँग रोहित र वुद्धिको द्वन्द्व देखाइएको छ । फिल्मको ट्रेलरलाई पूर्ण रुपमा कमेडी शैलीमा तयार पारिएको छ । नायक तथा निर्माता रुम्बाले कमेडी कथामा रमाइलो फिल्म बनाएको बताए । उनले दयाहाङ राई खलपात्रको भूमिकामा रहेकाले कुनै पनि गीतमा नदेखिएको स्पष्ट पारे ।

फिल्ममा रोहितकै कथा, किरण माइकल घिमिरेको पटकथा तथा संवाद, हरि लामा घलेको छायांकन, तारा थापाको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, बाबु बोगटी, सन्तोष राज र रोहित रुम्बाको संगीत छ ।