कमाईमा शाहरुख भन्दा सलमान अब्बल

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सलमान खानको एक्सन भरपूर फिल्म ‘टाइगर जिन्दा हे’ शुक्रबारबाट फिल्म हलमा आक्रामकका साथ प्रदर्शन भइरहेको छ । फिल्म हेरेका दर्शकले सलमानको कामको पनि प्रशंसा गरेका छन् । सलमानले अभिनयको तारिफ पाइरहँदा विश्व चर्चित पत्रिका फोब्र्सले सार्वजनिक गरेको सबैभन्दा बढी कमाई गर्ने सय सेलिब्रेटीको सूचीमा सलमानलाई पनि पारेको छन् ।

पत्रिकाले भारतमा सबैभन्दा बढी कमाई गर्ने सेलिब्रेटीको सूचीमा सलमानलाई नम्बर १ मा राखेको छ । सलमान गत वर्ष पनि यो सूचीको शीर्ष स्थानमा थिए र यो वर्ष पनि यो क्रमलाई निरन्तरता दिइरहे । पत्रिकाका अनुसार सलमानको कमाई २ सय ३२ दशमलब ८३ करोड रुपैंयाँ छ । सन् २०१६ मा उनको कमाई २ सय ७० दशमलब ३३ करोड थियो । जुन बेला उनी अभिनित फिल्म ‘सुल्तान’ र ‘प्रेम रतन धन पायो’ बक्स अफिसमा राम्रो व्यापार गरेको थियो । अघिल्लो वर्षको तुलनामा यो वर्ष उनको आम्दानीमा केही गिरावट आए पनि सूचीमा उनी नै पहिलो नम्बरमा परे ।

सूचीमा दोस्रो स्थानमा शाहरुख खान छन् । जसको कुल कमाई १ सय ७० दशमलब ५ करोड छ । सलमानको एक्लो कमाई उत्कृष्ट सयको सूचीको कुल कमाईको ८ दशमलब ६७ प्रतिशत हो । सय हस्तीको कुल कमाई २ हजार ६ सय ८३ करोड छ । सूचीमा अक्षय कुमार कमाईको मामलामा ९८ दशमलब २५ करोड रुपैंयाँसहित चौथो स्थानमा छन् भने ६८ दशमलब ७५ करोड रुपैंयाँसहित आमिर खान छैटौं स्थानमा सिमित छन् ।

सातौं स्थानमा बलिउडबाट हलिउडमा पुगेकी नायिका प्रियंका चोपडा छिन् । उनी सूचीको उत्कृष्ट १० मा पर्ने एक्ली महिला हुन् । त्यस्तै अर्का अभिनेता ऋतिक रोशन ६३ दशमलब १२ करोडसँगै नवौं स्थानमा छन् । जबकी अभिनेता रणवीर सिंह ६२ दशमलब ६३ करोड रुपैंयाँ आम्दानीसहित १० औं नम्बरमा छन् ।