शम्भुजीतको चौका दाउमा खुशी विल्सन

काठमाडौं । फिल्मी करियरमा संगीतकार शम्भुजित बास्कोटाले हालसम्म सयौंको संख्यामा संगीत र स्वर दिएका छन् । तर फिल्म लेखनको संख्यामा भने उनी अलिक कम छन् । अर्थात उनले फिल्मी करियरमा जम्मा आठ फिल्म मात्र लेखेका छन् । यतिबेला शम्भुजित आफ्नो लेखनको नवौं फिल्म ‘चौका दाउ’को तयारीमा छन् । बिहीबार आफ्नो व्यानरको फिल्मको घोषणा कार्यक्रममा शम्भुजित दुई कुराले खुशी थिए ।

बिहिबार परेको जन्मदिनमा त्यसको सेलिब्रेसनसँगै नयाँ फिल्मको घोषणाले पनि उनमा थप खुशी दिएको थियो । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपतिसमेत रहेका शम्भुजितको कथा र संगीतमा बन्ने फिल्ममा उनका छोरा सौर्यजीत र संगीतकार मनोजराज भण्डारीको लगानी हुनेछ ।  बासकोटाले मनोरञ्जन प्रधान सामाजिक फिल्म बनाउने बताइरहँदा फिल्मलाई वैशाखबाट सुटिङ गरेर तिहारमा रिलिज गर्ने घोषणा पनि गरे । फिल्ममा पूर्णेन्दु झाको निर्देशन हुनेछ । फिल्म ‘संरक्षण’पछि झाले यो फिल्मको निर्देशन गर्न लागेका हुन् ।

फिल्ममा विल्सन विक्रम राई ‘तक्मे बुढा’, रबिन्द्र झा, सन्तोष पन्त, तैयब शाह, निर्मल शर्मा, रमेशरञ्जन झा, पुष्करबहादुर गुरुङको अभिनय हुनेछ । फिल्मको नायकनायिका भने फाइनल भईसकेको छैन । कलाकार विल्सनले नेपाली संगीत क्षेत्रका अग्रज श्रष्टा शम्भुजीत बासकोटाको व्यानरमा निर्माण हुन लागेको फिल्ममा काम गर्न पाउँदा खुसी लागेको बताए ।

उनले अग्रजहरुसँग काम गर्दा सिक्न पनि पाइने लोभ पनि लागेको खुलाए । फिल्ममा दीर्घ गुरुङको छायांकन, शम्भुजीत बासकोटाको कथा, अभिमन्यु निरवीको पटकथा सम्बाद, मित्रदेव गुरुङको सम्पादन, चन्द्र पन्तको द्वन्द्व, बसन्त श्रेष्ठ र मौसम हिमालीको नृत्य हुनेछ ।