पुरन भन्छन्, ‘ऋचासँग काम गर्न सजिलो’

काठमाडौं । पुरन थापाको लेखन, निर्माण र निर्देशनको कमेडी फिल्म फेरि–फेरिको झण्डै ८५ प्रतिशत छायांकन सकिएको छ । माघ तेश्रो सातादेखि सुटिङ थालिएको फिल्ममा अर्पण थापा, ऋचा शर्मा, निर्देशक पुरन, धर्मेन्द्र आचार्य, निक शर्मा, ओमप्रतिक गुरुङ, लय संग्रौला, रश्मी पाण्डे, ध्रुव कोइराला,एलिना बास्कोटा,सोनीका बास्तोला, राम बुढाथोकीलगायतका कलाकारको अभिनय छ ।

फिल्मको बिहीबार भक्तपुर, सूर्यबिनायकमा द्वन्द्व दृश्यको छायांकन गरियो । फिल्मको क्लाइमेक्स फाइट झण्डै दश दिन लगाएर खिचिएको निर्देशक पुरनले जनाए । ‘फिल्म निकै हेभी बनेको छ,’ निर्देशक पुरनले भने, ‘गुणस्तरिय फिल्म बनाउन कुनै कसर बांकी राखेको छैन ।’ फिल्मको काठमाडौ उपत्यकाका भित्रका दृश्य खिचिसकेपछि दामन, चितवन हुदै कर्णाली पुलसम्म पुग्ने सेड्युल रहेको छ ।

नेपालमा पहिलोपटक अत्याधुनीक प्रबिधिको रेड इपिक डब्लु हेलियम एट के क्यामेराबाट खिचिएको फिल्मको द्वन्द्व एनबि महर्जनले निर्देशन गरेका छन् । बिहीबारको सुटिङमा गुण्डाहरुले अपहरण गरेर ल्याएको जन्ती बोकेको बसलाई अर्पण र ऋचाले बनाउने दृश्य र त्यससंगै हुने द्धन्द्धको दृश्य खिचीयो ।  आफ्ना बिगतका फिल्म भन्दा फेरि फेरिमा बेग्लै प्रकारको भूमिका रहेको अर्पणले बताए । त्यसैगरी, ऋचाले आफूले बिगतका फिल्ममा बिभिन्न भूमिका निर्वाह गरेको स्मरण गर्दै फेरि फेरिमा भने नौलो चरित्रमा अभिनय गर्न पाएको बताइन् ।

‘एकदम रमाइलो भूमिका छ । सुरुदेखि अन्तिमसम्मनै फिल्म निकै रोमान्चक छ,’ उनले भनिन्,‘एकदम मसलेदार फिल्म हो । त्यसैले फेरि फेरि पनि बेग्लै प्रकारको यादगार फिल्म हुनेमा मलाई बिश्वास छ ।’ निर्देशक पुरनले पनि ऋचा र अर्पणसँग काम गर्न निकै सजिलो भएको बताए । ‘ऋचासँग काम गर्न गाह्रो छ भन्ने सुनेको थिएँ तर उनीसँग काम गर्न सजिलो रहेछ,’ पुरनले भने, ‘एकदमै को–अपरेट, प्रोफेशनल अनि सजिली पाएँ । मलाई एकदमै सहयोग भएको छ ।’ सुरेश बज्राचार्यले खिचिरहेको फिल्मको निर्मातामा पुरनका छोरा निरज थापा छन् । फिल्मलाई दशैसम्म दर्शकमाझ ल्याउने योजना पुरनको छ ।