‘धुर्मुस सुन्तली फाउण्डेसन साझा संस्था’

काठमाडौं । फिल्मीखवर साप्ताहिकले आफ्नो प्रकाशनको ८ वर्ष पुरा गरी ९ वर्ष प्रारम्भ गरेको अवसर पारेर समाजसेवी कलाकार जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’लाई सम्मान गरेको छ । पत्रिकाले उनीहरुलाई वर्ष व्यक्तिको रुपमा सम्मान गरेको हो । बिहीबार राजधानीमा एक कार्यक्रम गर्दै उनीहरुलाई सम्मान गरिएको थियो । संगीतकार शम्भुजित बास्कोटा तथा पत्रिकाका सम्पादक शान्तिप्रियले सम्मान गरेका थिए ।

कार्यक्रममा कुञ्जनाले मान्छेले आफ्नो सन्तानको प्रगति चाहने व्यक्ति वा संस्थाले पारिवारिक वातावरणमा यो किसीमको सम्मान पाउँदा अत्यन्तै खुशी लागेको बताउँदै आफू कलाकारीता क्षेत्रको सन्तान भएको बताइन् । सितारामले धुर्मुस सुन्तली फाउण्डेशन केवल सिताराम र कुञ्जनाको मात्रै नभएर सबैको साझा संस्था रहेको बताए । उनले सबै कलाकार जनमानसमा आपतविपत पर्दा संयमित भएर लाग्ने गरेको बताए ।

कार्यक्रममा प्रमुख अतिथी शम्भुजित बास्कोटाले आफ्नै जन्मदिन र फिल्मीखबरको बार्षिकोत्सवको संयोग आफ्ना लागि गौरव गर्न लायक भएको वताए । फिल्मीखबरले अहिलेसम्म आर्यन सिग्देल र रेखा थापा, जीवन लुइटेल र निशा अधिकारी, सौगात विष्ट र प्रियंका कार्की, नारायण रायमाझी र दीपाश्री निरौला, कालिप्रसाद बाँस्कोटा र वर्षा राउतलाई वर्ष व्यक्ति सम्मान दिइसकेको छ ।