बालकृष्णको साहित्यिक आकाश गंगा

काठमाडौं । साहित्यकार बालकृष्ण पौडेलको उपन्यास ‘आकाश गंगा’ सार्वजनिक भएको छ । ज्योति साहित्य प्रतिष्ठानको १ सय ३९ औं श्रृंखलामा प्रतिष्ठानका अध्यक्ष मणिराज सिंह, प्राध्यापक डा. गार्गी शर्मा, उपन्यासकार प्राध्यापक डा. बालकृष्ण पौडेललगायतले उपन्यास लोकार्पण गरे । उपन्यासकार पौडेल विश्व नेपाली साहित्य महासंघ साउदी च्याप्टरका अध्यक्ष पनि हुन् ।

समिक्षक कमला रिसाल ‘ज्योति’ले उपन्यासको समिक्षा गर्दै नालीको ढुंगा कलाकारको हातमा पर्दा मूर्ति बनेजस्तै उपन्यासमा पनि त्यस्तै कुरा आफूले पाएको बताइन् । उनले उपन्यासकारलाई कृति रचना गर्नुभन्दा अगाडि अन्य लेखका राम्रा कृति अध्ययन गर्न सुझाव दिइन् । अर्का वक्ता पुष्कर लोहनीले विदेशी भूमिमा बसेर साहित्य लेख्ने कार्य सहज नभएको तर त्यो काम पौडेलले गरेको बताए ।

डा. विदूर चालिसेले उपन्यासको सैद्धान्तिक पक्षमा जोड दिँदै उपन्यास भन्दा पनि गजल कथा बन्न गएको जनाए । प्राडा विष्णुहरि नेपालले नेपाली साहित्यको भण्डारमा नयाँ कृति थपिएको भन्दै सबैको आ–आफ्नो गुण हुने र यस कृतिमा पनि पौडेलको मौलिकपन झल्किएको बताए ।

कार्यक्रममा चन्द्रकला आचार्य, महेशप्रसाद रिजाल, शैलेन्द्रकुमार शाह, राजबाबु श्रेष्ठ, प्रकाश बस्नेत, देवा अधिकारी, भगवती अर्याल, तारानाथ लम्साल, त्रिभुवन चन्द्र वाग्ले, गोकुल अधिकारी, शान्ति शर्मा, रुद्र अधिकारी, गोविन्द नेपाल, ब्रह्मप्रिय प्रेमस्वरुप, संगीता ठाकुर, गंगा आचार्य, सानु शर्मा, रश्मी रिमाल, बेटी बज्राचार्य, रामकुमार पण्डितले कविता र गजल वाचन गरेका थिए । कार्यक्रममा प्रतिष्ठानका आजीवन सदस्य गंगा लिगल र रविन्द्र आशिषलाई सम्मान गरिएको थियो ।