अनलाइन भोटिङबाट नेपाल म्युजिक अवार्ड

काठमाडौं । नेपाली संगीत विधासँग सम्बन्धित अवार्ड ‘नेपाल म्युजिक अवार्ड २०७५’ निष्पक्ष हुने आयोजकले बताएका छन् । राजधानीमा शनिवार अवार्डको मनोनयनमा परेका ३८ विधाका उत्कृष्ट ५ स्रष्टालाई मनोनयन पत्र वितरण कार्यक्रममा आयोजकले यो दाबी गरेका हुन् । आयोजक चाहना मिडियाका अध्यक्ष सहदेव कोइरालाले निष्पक्ष ढंगबाट अवार्ड प्रदान गर्न लागिएको बताए ।

उनले नेपालमा पहिलो पटक अनलाइन भोटिङ सिस्टम प्रणाली यो अवार्डबाट शुरु गरिएको दाबी गरे । ‘अनलाइनबाट भोट गर्दा एकै व्यक्तिलाई धेरैपटक भोट गर्न मिल्दैन । सिस्टममा सबै कुराको अध्ययनपछि मात्र हामीले यो निर्णय गरेका हौं । अनलाइन भोटिङपनि प्रभावकारी रहनेछ ।’

स्रष्टालाई मनोनयनपत्र दिँदै रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले अवार्ड निष्पक्ष हुनुपर्ने बताए । संगीतकार टीका भण्डारीले विगतका दिनहरुमा रेडियो नेपालले प्रदान गरेका अवार्डहरुबाट पनि धेरै कुरा सिक्नुपर्ने बताए । कार्यक्रममा शंकर बिसी, प्रकाश भट्ट, कपिल लामा, उमेश गुरुङ, विक्रम चौहान, मोडल महेन्द्र गौतम, विमल अधिकारी, ध्रुव हिमाली, गायिका पुर्णकला बिसी, भुमिका गिरी, संगीतकार सन्तोष श्रेष्ठले मनोनयनपत्र लिएका थिए ।