‘फण्डाका लागि बडीगार्ड राखेको होइन’

काठमाडौं । पछिल्लो पुस्तामा फिल्ममा नाम चलेका कलाकारले सार्वजनिक कार्यक्रममा ‘बडीगार्ड’ राख्ने चलन बढेको छ । अहिलेको पुस्ताको सर्वाधिक रुचाइएका नायक अनमोल केसीबाट सार्वजनिक कार्यक्रममा ‘बडीगार्ड’ सहित पुग्ने चलनको शुरुवात गरेपछि अर्का नायक प्रदीप खड्काले पनि त्यही कामको सिको गरे ।

एक दशकदेखि फिल्म क्षेत्रमा सक्रिय नायक कुशल थापा सार्वजनिक कार्यक्रममा कहिँकतै पनि ‘बडीगार्ड’ सहित उपस्थित भएका थिएनन् । तर उनले नै निर्माण गरेको फिल्म ‘ह्याप्पी न्यू इयर’को प्रमोसनमा पोखरामा भने ६ जना ‘बडीगार्ड’ सहित देखिए । ‘मैले कुनै फण्डाका लागि बडीगार्ड राखेको होइन’,’हजारौं दर्शकमाझ पोखराको सभागृह चोकमा आयोजित फिल्म प्रमोसन कार्यक्रममा कुशलले भने,‘म फिल्ममा लभर ब्वाईका रुपमा देखिएका छु । आशा छ दर्शकले मेरो भूमिकामाथि न्याय गर्नुहुनेछ ।

नजिकिदो क्रिसमस डे र नयाँ वर्षलाई लक्षित गर्दै फिल्मको प्रसारप्रसारलाई व्यापक बनाउने उद्देश्यले पोखरामा निर्माण यूनिटले कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा गायक विनोद ढकालले आफ्ना चलेका गीत गाउँदा मोडल सोनिकाले विभिन्न आइटम गीतमा नृत्य गरिन् । उनीसँग कोरियोग्राफरसमेत रहेका रोहन नेपालीले कम्मर मर्काए ।

पोखरामा भएको स्ट्रिट कन्सर्टमा डेभिड खड्काले ग्लास ब्रेकर डान्स गरे । झण्डै सय वटा ट्युवलाईट आफ्नो शरीरमा फुटाए । चुनौतीपूर्ण यो डान्स गरिरहदा उनको शरीर ट्युवलाइटले काटेर रक्ताम्य भयो । हेटौडा, नारायणघाट र बुटवलमा कन्सर्टको गरेको फिल्म युनिटले पोखरा पछि अब काठमाडौंमा क्रिसमस डेको दिन अन्तिम कन्सर्ट गर्नेछ ।

सम्पूर्ण छायांकन अष्ट्रेलियामा गरिएको यो फिल्म यहि पौष १४ गते रिलिज हुँदैछ । देवकुमार श्रेष्ठ निर्देशित फिल्ममा कुशल थापा, सन्ध्या केसी र पुकार गौतमको मुख्य भूमिका छ । फिल्मकी निर्मात्री रति श्रेष्ठ थापा हुन् ।