मेलिनाको इन्द्रेणीमा फरक नीता–निराजन

काठमाडौं । पाश्र्व गायन होस् या सुगम संगीतमा पछिल्लो समयमा गायिका मेलिना राई मिडियामा आइरहने नाम हो । यिनै गायिकाले नयाँ गीत ‘इन्द्रेणीको’ को भिडियो श्रोतामाझ ल्याएकी छन् । मेलिनाले आफ्नै च्यानलमार्फत भिडियो रिलिज गरेकी हुन् । एल्बम ‘इन्द्रेणी’मा समावेश यस गीतमा शब्द दियालो सुशन माँझीको रहेको छ भने यसलाई उत्तम जंग लिम्बुले संगीत भरेका छन् ।

फणिन्द्र राईको एरेन्ज रहेको गीतको भिडियोलाई टौवा क्रियसनले तयार पारेको छ । शान थापा निर्देशित भिडियोमा निराजन प्रधान र नीता ढुंगानाले फिचरिङ गरेका छन् । फिल्ममा नदेखिएको जोडीलाई भिडियोमा देखाएको निर्देशन थापाले बताए । गीतमा युवतीले कल्पना गर्ने मायाको संसारलाई चित्रण गरिएको छ । विशेष गरि गीतको ड्रेसले चर्चा पाएको छ ।

अन्य भिडियो भन्दा फरक बनाउन निर्देशक थापाले कमल मानन्धरको डिजाइनमा रहेको ड्रेसमा निराजन र नीतालाई प्रस्तुत गरेका छन् । राजिभ समरको कोरियोग्राफी रहेको गीतमा अर्जुन तिवारी र टीमको छायांकन छ । मनोज जोशी प्रोडक्सन म्यानेगर रहेको यस गीतको भिडियोमा सम्पादन र कलर सुप्रिम पराजुलीको रहेको छ ।

भिडियोबारे यसो भन्छन् निर्देशक शान र गायिका मेलिनाः–
शान थापा , निर्देशक -गीतलाई अन्य भन्दा फरक बनाउन सम्पूर्ण टीमनै लागेका थियौ । गीतले प्रेम भाव व्यक्त गर्ने भएकोले युवतीले कल्पना गर्ने राजकुमारलाई देखाउने प्रयास गरेका छौ । कल्पनामा युवतीले आफुलाई परिको रुपमा चित्रण गर्ने भएकोले त्यस किसिमकै ड्रेसलाई प्रयोग गरेका छौ । विशेष गरि यी दुईको मनलाई पुष्पसंग तुलना गर्दै त्यस्तै किसिमको ड्रेसमा प्रस्तुत गरेका छौ । गीतले चोखो मायाको भावनालाई व्यक्त गरेको छ ।

मेलिना राई , गायिका – गीतमा विशेष गरि मायालुको कल्पनालाई प्रस्तुत गरिएको छ । शब्द र संगीतकै हिसाबमा गीतलाई गाएकी हुन् । एउटी सुन्दरीले आफुलाई परि सम्झिदै गर्दा कस्तो राजकुमार चाहन्छे भन्ने भावना गीतमा व्यक्त गरेका छौ । साथै भिडियोमा पनि यसलाई नै देखाउने प्रयास गरेका छौ ।