अफेयरमा सञ्जय र माधुरी !

मुम्बई(एजेन्सी) । सन् ९० को दशकमा सञ्जय दत्त र माधुरी दिक्षितको प्रेमकथा बलिउडमा निकै चर्चाको विषय थियो । पर्दामा हिट यो जोडी वास्तविक जीवनमा चाहिँ हिट हुन सकेनन् । हालै मात्र यासरी अहमदले सञ्जय दत्तमाथि लेखेको पुस्तक ‘सञ्जय दत्तः दी क्रेजी अनटोल्ट लव स्टोरी आफ बलिउड ब्याड ब्वाई’मा सञ्जय र माधुरीबीचको अफेयरका विषयमा नयाँ खुलासा गरिएको छ ।

पुस्तकमा सञ्जयकी पत्नी ऋचालाई माधुरी र सञ्जयबीचको अफेयरको खबर कसरी पुग्यो भन्ने कुरा पनि उल्लेख गरिएको छ । ‘ऋचा न्यूर्योकमा हुँदा उनलाई पतिको माधुरीसँगको अफेयरका बारे खबर पुगेको थियो । उनलाई पतिको अफेयरको खबर मिल्दा उनी न्यूर्योकमा क्यान्सरको उपचार गरिरहेकी थिइन् । उनी खबरले निकै बेचैन भइन् र जसरी भए पनि भारत फर्किएर आफ्नो वैवाहिक जीवनलाई बर्बाद हुनबाट जोगाउन चाहन्थिइन् ।’ पुस्तकमा लेखिएको छ ।

सन् १९९२ को अक्टोबरमा न्यूर्योकको उपचार पछि छोरी त्रिशालाका साथ भारत फर्किएकी ऋचालाई लिन सञ्जय एयरपोर्टसम्म पनि पुगेका थिएनन् । मुम्बईमा १५ दिन बसेपछि ऋचा न्यूर्योक नै फर्किएकी थिइन् । ऋचा सञ्जयसँगै राम्रो वैवाहिक जीवन बिताउन चाहे पनि सन् १९९३ मा सञ्जयले अदालतमा सम्बन्धविच्छेदका लागि निवेदन दिएपछि उनको चाहना अपुरै रह्यो ।

यो घटनापछि ऋचालाई क्यान्सरले झन च्याप्यो र सञ्जयले जनमानसको व्यापक आलोचना सहे । ऋचाको क्यान्सरबाट मृत्यु भएपछि सञ्जय पनि प्रहरीको गिरफ्तारीमा परे । माधुरीका आमाबाबु पनि सञ्जयसँगको सम्बन्धका विरुद्धमा थिए । सञ्जय जेल चलान भएपछि माधुरीले टाढिने निर्णय गरेकी थिइन् ।