हिउँमाझ प्रेम साट्दै आकाश–सामाग्री

काठमाडौं । आगामी चैत २३ गते रिलिज हुने फिल्म ‘तिमी सँग’को शीर्ष गीत ‘पाईला बनु छाँया बनु तिमी सँग’ सार्वजनिक भएको छ । गीतमा हिँउमाझ फिल्मका प्रमुख कलाकार साम्राज्ञी राज्य लक्ष्मी शाह र नायक आकाश श्रेष्ठले फिचरिङ गरेका छन् । गीतमा नेपालको हिमाली भागलाई सुन्दर तवरले समेटिएको छ ।

राजधानीमा बुधबार आयोजित कार्यक्रममा कलाकार तथा निर्देशक दीपाश्री निरौलाले गीत र फिल्मले युवापुस्तालाई प्रतिनिधित्व गर्नेमा आफू विश्वस्त रहेको बताइन् । गीतमा लेखु सहयात्रीको शब्द, राहुल मुखर्जीको संगीत, शिशिर खातीको कोरियोग्राफी तथा मधुरा भट्टचार्य र राहुल मुखर्जीको स्वर छ ।

शिशिर राणाको लेखन, निर्माण र निर्देशनमा बनेको फिल्ममा नाजिर हुसेन, शिशिर राणा, अनुपम श्रेष्ठलगायतको पनि अभिनय छ । कार्यक्रममा नायिका साम्राज्ञीले चिसो मौसममा फिल्मको काम गर्दा निकै रमाइलो भएको बताइन् । उनले आफूलाई मात्र चिसो मौसममा फिल्म सुटको संयोग मिलेको पनि खुलाइन् ।