आमिरको महाभारतको लागत हजार करोड

मुम्बई(एजेन्सी) । आफ्नो आगामी फिल्म ‘ठग्स अफ हिन्दुस्तान’बाट फुसर्द पाउनासाथ बलिउड मिष्टर परफेक्शनिस्ट अभिनेता आमिर खान नयाँ प्रोजेक्टसँग जोडिने तयारीमा छन् । उनको नयाँ प्रोजेक्टलाई भारतकै सबैभन्दा महंगो प्रोजेक्टका रुपमा मानिएको छ ।

महाभारतमा आधारित यो फिल्मको सिरिजको निर्माणका लागि भारतीय उद्योगपति मुकेश अम्बानी पनि जोडिएका छन् ।  भारतीय सञ्चारमाध्यमका अनुसार मुकेश अम्बानीको सह निर्माणमा बन्न लागेको यो फिल्मको बजेट १ हजार करोड बढी हुनसक्छ । फिल्म ट्रेड विशेषज्ञ रमेश बालाले एक ट्वीट गर्दै यो सूचना सार्वजनिक गरेका हुन् ।

यदि यो बजेटमा आमिरको फिल्म बनेमा भारतमा हालसम्म सबैभन्दा महंगो बजेटमा बनेको फ्रेञ्चाइजी फिल्म ‘बाहुबली’को रेकर्ड पनि तोडनेछ । दुई भागको ‘बाहुबली’को कुल निर्माण लागत ४ सय ३० करोड रुपैंयाँ छ । बालाका अनुसार आमिरको यो नयाँ फ्रेञ्चाइजीको निर्माण लागत हलिउडको ‘लर्ड अफ द रिङ्स’ र ‘गेम अफ थ्रोन्स’सँग तुलना गरिएको छ । फिल्मको बजेटका विषयमा आमिरले मुख खोलेका छैनन् ।