सरस्वतीको ‘लालटिनको उज्यालोमा’ सार्वजनिक

काठमाडौँ । सरस्वती ज्ञवालीद्वारा आफ्नो आत्मकथामा आधारित रहेर लेखिएको ‘लालटिनको उज्यालोमा’ पुस्तक सार्वजनिक गरिएको छ । राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त यशोदा तिम्सिना, समालोचक प्राध्यापक डा.कृष्णचन्द्र शर्मा, नेकपा एमालेका सांसद बिन्दा पाण्डेले संयुक्त रुपमा शनिवार राजधानीमा विमोचन गरे ।

अक्षर क्रिएसन्स् नेपालद्वारा प्रकाशित सो पुस्तक २४४ पृष्ठ र ३२० रुपैयाँ मूल्यको छ । उक्त पुस्तकमा २८ वटा विभिन्न उपशीर्षक छन् र तिनमा फरक प्रसंग, भोगाई र अनुभूति समेटिएको छ ।घरमै बसेर अध्ययन गर्ने वातावरण समेत नपाएकी एउटी नारीले आफ्नो अध्ययनपछि शिक्षिका र राजनीतिकर्मीका रुपमा समाज परिवर्तनका लागि गरेको संघर्षका कथाहरुलाई यस पुस्तकमा समेटिएको छ । शिक्षा र चेतनाको अभाव रहेका नेपालका पश्चिम पहाडी विकट गाउँहरुमा महिलाको अवस्था र उनीहरुले आफ्नो शिक्षा तथा आधारभूत अधिकार प्राप्तिका लागि गर्नुपरेका संघर्षपूर्ण कठिन परिस्थितिहरुलाई पुस्तकमा उल्लेख गरिएको छ ।

पाल्पाको मदनपोखरामा जन्मिएकी लेखिका ज्ञवालीले २०४० को दशक र त्यसपछिको पाल्पा, गुल्मीसहित त्यस क्षेत्रका नारीको अवस्था र आफैले त्यस समयमा भोग्नुपरेका जागिरे र राजनीतिकर्मीको जीवनका यथार्थ भोगाइहरुलाई सो पुस्तकमा आत्मकथाका रुपमा उतारेकी छन् । त्यस्तै उनले आफ्नो जिवनमा करिब एक दर्जन कार्यालयमा जागिर खाएको तर राजनीतिक पूर्वाग्रहका कारण कहिल्यै स्थायी हुन नसकेको यथार्थलाई पनि आत्मकथाका रुपमा पुस्तकमा लेखेकी छन् । लेखिका सरस्वतीले एउटी श्रीमतीका रुपमा आफ्ना राजनीतिकर्मी श्रीमान्को सफलता र प्रगतिका लागि आफ्नो जागिर र आकांक्षाहरुलाई पनि बिर्सिदिनेगरी निर्वाह गरेको भूमिकालाई पनि आत्मकथाका रुपमा वर्णन गरिएको छ ।