प्रदिप हेर्न दर्शकको भीड

काठमाडौं । आगामी चैत्र ३० गतेबाट अल नेपाल रिलिज हुन लागेको फिल्म ‘लिलिबिली’ रिलिज हुनु अघि नै फिल्मका नायक प्रदिप खड्काले आफ्नो क्रेजलाई दर्शकसामू छर्लङ पारेका छन् । केही दिन अघिसम्म फिल्मको प्रमोशनका लागि मोफसलको टुरमा रहेको फिल्म युनिटमा प्रदिपलाई हेर्न प्रत्येक ठाउँमा दर्शकको उपस्थिति बाक्लो देखिएको थियो ।

चितवनबाट पूर्व लागेको फिल्म युनिटले दमक, धरान र बिर्तामोडमा कन्सर्ट गरि दर्शकलाई मनोरञ्जन दिएको थियो । फिल्मका नायक प्रदिप, नायिका जसिता गुरुङलगायतको टोली सम्मिलित यात्रामा अभिनेता प्रदीपलाई हेर्न हजारौ दर्शकको उपस्थिति देखिएको थियो । युवापुस्ता माझ राम्रो क्रेज बनाएका प्रदीपकै कारण दर्शकको भिड लागेको थियो । प्रदीपसँगै टुरमा जसिता गुरुङ, निर्देशक मिलन चाम्स, निर्माता सुदिप खड्का, नेपाल आइडलका गायक प्रताप दास, गायक एसडी योगी र गायिका मेचु धिमाल पुगेका थिए ।

निर्देशक मिलन चाम्सले मोफसलको यात्रा पछि अब उपत्यका केन्द्रीत रहेर फिल्मको प्रमोसन हुने बताए । उनले दर्शकको मायालाई खेर फाल्न नदिइकन राम्रो फिल्म बनाएको दाबी पनि गरे । फिल्ममा प्रदीप र जसिताका अलावा प्रियंका कार्की, अनुपबिक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, धुर्व दत्त, रितेश चाम्स लगायतका कलाकारको अभिनय छ । काफिया फिल्म्स, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ । फिल्ममा अर्जुन जिसीको सम्पादन, चन्द्र पन्तको एक्सन र सुदिप बरालको छायांकन छ ।